सुरक्षाका लागि बनाइएको क्वारेन्टाइन नै संक्रमणको स्रोत बन्दै !

मुलुकमा कोरोना संक्रमितहरुको संख्या बढ्नुमा भारतबाट आएकाहरुलाई राखिएको नाम मात्रका क्वारेन्टाइन भएको जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् । अहिलेको संक्रमण क्वारेन्टाइनबाटै भएको आशंका उनीहरुको छ ।
चीनको वुहानबाट विद्यार्थी लिएर आउँदा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइन डब्लुएचओको मापदण्ड अनुसारको भए पनि अहिले बनाइएका क्वारेन्टाइन मापदण्डअनुसारको त कता कता अत्यन्त अव्यवस्थित र भद्रगोल छ ।
क्वारेन्टाइनमा कुनै आधारभूत सुविधा नभएको र सामाजिक दूरी समेत कायम नगरी राखिएको विज्ञहरूको भनाइ छ । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको विज्ञहरूको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा छन् । त्यसै गरी सुदूरपश्चिममा २ हजार ९ सय १६, प्रदेश २ मा २ हजार ५१, कर्णालीमा १ हजार ८२, प्रदेश १ मा ८ सय ८५, गण्डकीमा ३ सय ७ जना र सबैभन्दा कम वाग्मतीमा १ सय १७ जना क्वारेन्टाइनमा छन् ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। जीडी ठाकुरले स्कुल, खाली ठाउँमा बनाइएको क्वारेन्टाइनमा कुनै आधारभूत सुविधा नभएको र व्यक्तिगत, सामाजिक दूरी कायम राख्न प्रेरित पनि नगरिएको बताउँदै केही क्वारेन्टाइनमा त साबुनपानीले हात धुने व्यवस्थासमेत नभएको र स्थानीय सरकारहरूद्वारा निर्मित अव्यवस्थित क्वारेन्टाइन संक्रमण फैलाउने ठाउँ बनेको बताउनुभएको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले अधिकांश क्वारेन्टाइनमा एकबाट अर्को व्यक्तिमा संक्रमण नहुने उपायसहित नराखिएको बताउँदै चिकित्सकहरूबाट पाएको प्रतिक्रियाअनुसार अधिकांश क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छैनन् संक्रमणको स्रोत क्वारेन्टाइन बनेको बताउनुहुन्छ ।
डा. कार्कीका अनुसार एउटा क्वारेन्टाइनमा सय, दुई सय व्यक्ति राखे पनि शौचालय एक, दुईवटा मात्र रहेको र सबैलाई त्यही शौचालय उपयोग गर्नुपर्ने बाध्यताका कारण एक जना संक्रमितले थुप्रैमा संक्रमण सर्छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि क्वारेन्टाइन असुरक्षित बनेको बताउनुहुन्छ । उहाँ क्वारेन्टाइन अब्जरभेसन बेड रहेको अस्पताल जस्तै हुनुपर्छ, टाउको जोडेर एउटै सानो कोठामा थुप्रैजना बस्नुपर्ने अवस्थाको क्वारेन्टाइनमा राख्नुभन्दा सबैलाइ घरमै पठाएर त्यहाँ के गर्न हुने नहुनेबारे जानकारी दिँदा राम्रो हुने सुझाव दिनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्