पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले आत्मसुधार, आन्तरिक एकता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै राष्ट्र तथा जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहनुभएकी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको विचार, त्याग र राजनीतिक मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
एमाले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै भण्डारीले एमालेले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जनताको बहुदलीय जनवाद -जबज)को मूल मर्म जनताको मत, अधिकार र जनताप्रतिको अटुट विश्वासमा आधारित रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रतिस्पर्धा, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि प्रभावकारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास हो। बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ ।’
भण्डारीले एमालेले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकास यात्रामा ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गर्दै अब पार्टीले जनविश्वास थप बलियो बनाउने दिशामा काम गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
कार्यक्रममा उहाँले पार्टी कार्यकर्ताहरूलाई जनताको घरदैलोमा पुगेर दुःख–सुखमा सहभागी हुन आग्रह गर्दै समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।
युवापुस्तालाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएको उल्लेख गर्दै शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सकिए नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ चरणमा प्रवेश गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता हो ।अब हाम्रा राजनीतिक तथा सामाजिक गतिविधिहरूलाई युवा पुस्तामा केन्द्रित गर्नुपर्छ।’





प्रतिक्रिया राख्नुहोस्