‘फ्रि भिसा, फ्रि टिकट’ नीतिविपरीत म्यान पावर कम्पनीले वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका युवासँग ३ लाख रुपैयाँ असुल्न खोजिएको घटना सार्वजनिक भएपछि प्रहरीले एक म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ ।
सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको उडान वैशाख २९ गतेका लागि तय भएको थियो ।
सरकारले लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार म्यानपावर कम्पनीलाई अधिकतम १० हजार रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था छ ।
सो प्रावधान विपरीत यसअघि नै ७० हजार रुपैयाँ बुझाइसके पनि कोटेश्वरस्थित ‘ग्रान्ड स्विट जब’ नामक म्यानपावर कम्पनीले थप २ लाख २० हजार रुपैयाँ नदिएसम्म विदेश जान नदिने अडान लिएपछि यादव समस्यामा पर्नुभएको थियो ।
रोजगारदाता कम्पनीबाट भिसा र टिकट आइसकेको अवस्थामा पनि रकम अभावका कारण उहाँको विदेश जाने सपना अधुरो बन्न पुगेको थियो । म्यानपावरले बाँकी रकम बुझाए जेठ ३ गते उडाइदिने बताएपछि यादव पैसा जुटाएर शनिबार काठमाडौं आउनुभएको थियो ।
त्यस क्रममा कम्पनीका एक कर्मचारीले फोन गरेर पासपोर्ट र अन्य कागजात आफूसँग रहेको भन्दै तीनकुनेस्थित गैरीगाउँको पेट्रोल पम्प अगाडि रकमसहित आउन बोलाएका थिए । यसअघि नै यादवले आफू ठगिएको गुनासो युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको सचिवालयमा गरिसक्नुभएको थियो ।
घटनाबारे जानकारी पाएपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव केही सञ्चारकर्मी र प्रहरी टोलीसहित तीनकुने पुग्नुभएको थियो । प्रहरीको उपस्थितिमै म्यानपावरका कर्मचारीले अजयसँग रकम मागेका थिए ।
अजयले पहिले राहदानी र कागजात दिन आग्रह गरेपछि केहीबेर विवाद भएको थियो । त्यसपछि प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी अनुसन्धानका क्रममा ती कर्मचारीले ‘फ्रि भिसा, फ्रि टिकट’ व्यवस्थाअन्तर्गत जाने कामदारसँग ३ लाख रुपैयाँ मागेको स्वीकार गरेका थिए । उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट चारवटा राहदानी, फ्लाइट टिकट तथा अन्य महत्त्वपूर्ण कागजात बरामद गरेको जनाएको छ । ती कागजात रकम लिएर मात्रै सम्बन्धित व्यक्तिलाई दिने तयारी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रममन्त्री यादवका स्वकीय उपसचिव सरोज यादवले सोझा नेपाली कामदारलाई ठगी हुनबाट जोगाइएको बताउँदै वैदेशिक रोजगारीमा जाने क्रममा कुनै समस्या परे श्रम मन्त्रालयमा सिधै सम्पर्क गर्न आग्रह पनि गर्नुभयो ।
यता, प्रहरीको सक्रियतापछि यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गरिएको छ । त्यसपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ ।
यादवले आफूलाई सुरुमा कुनै अतिरिक्त रकम नलाग्ने आश्वासन दिइएको तर भिसा आएपछि ३ लाख रुपैयाँ मागेर दबाब दिइएको गुनासो गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्