राजनीति

सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नसक्ने सरकारले मिचिएको भूमि फिर्ता कसरी ल्याउँछ

गगन थापा

गगन थापा

नेपाली काँग्रेसका सांसद गगन थापाले कोरोनाको महामारीका कारण परेको अर्थतन्त्र जोगाउन लाग्नेतर्फ सरकार नलागेको, रोजगारी गुमेका नागरिकलाई राहत दिने विषयलाई प्राथमिकता नदिइएको बताउँदै महामारीको यो अवधिमा सरकार रमिते भएर बसेको आरोप लगाउनुभयो ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उहाँले सीमामा अलपत्र परेका नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नलागेको तर्क गर्नुभयो ।

काँग्रेसकै दिलेन्द्रप्रसाद बडुले कोभिड–१९ कारण बेरोजगार बनेका नागरिकलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो । कालापानी क्षेत्रमा सडक पूर्वाधार पु¥याउन सरकारले तत्काल काम थाल्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रका जनतालाई हेलिकोप्टरमार्फत खाद्यान्न पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कालापानी क्षेत्रमा नेपालको तर्फबाट प्रभावकारी सुरक्षा प्रबन्ध नभएको र केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभएको सो स्थानको भ्रमणको बारेमा हालसम्म कुनै जानकारी पाउन नसकिएकामा गुनासो गर्नुभयो ।

सांसद भीमसेनदास प्रधानले नीति कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने तयारी राम्रो काम भएको भन्दै उहाँले सीमा सुरक्षामा सेनालाई तैनाथ गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रङ्गमती शाहीले कोरोनाले पार्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न नीति कार्यक्रम आउन नसकेको र कार्यकर्तामुखी मात्रै भएको आरोप लगाउनुभयो । उहाँले सबै नागरिकको कोरोना परीक्षण गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद पार्वता डिसी चौधरीले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन परीक्षणको दायरालाई बढाउन माग गर्दै न्यून आय भएका नागरिकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसीले चालु आवमा तय गरिएको कार्यक्रम नै पूरा नभएको आरोप लगाउँदै आगामी आवको कार्यक्रम पनि उस्तै आएको र त्यसले नेपाली जनताको पक्षमा कुनै पनि अर्थ नराख्ने बताउनुभयो । उहाँले कृषिलाई विशेष प्राथमिकतामा राख्न र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद बहादुरसिंह लामाले सरकारको नीति तथा कार्यक्रममाथि सदनमा छलफल भइरहेको बेला मन्त्री नै अनुपस्थित हुनु दुःखद रहेको बताउनुभयो । उहाँले आफ्नो थात थलो फर्कन नेपाल–भारत सीमा क्षेत्रमा आइपुगेका नेपाली नागरिकलाई उचित परीक्षण गरी घर आउने वातावरण बनाउन आग्रह गर्नुभयो । सांसदहरु शान्ता चौधरी, हितबहादुर तामाङ, विमला नेपाली, देवेन्द्रराज कँडेल, हिराचन्द्र केसी, सुजाता परियार, पुष्पा भुसाल, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारीलगायतले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, विपद्सँग जुध्न स्वास्थ्य पूर्वाधारको निर्माण, कृषि क्षेत्रको विकास तथा रोजगारी अभिवृद्धिका कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.