सडकमै भोजभतेर गर्दै संक्रमणको जोखिम बढाउँदै
सयौंको सङ्ख्यामा उपस्थित भएर स्थानीय भोज खाने कार्यक्रममा सहभागी
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । स्थानीयवासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् ।
सर्लाहीमा यस्तै भैरहेको छ । नागरिक निषेधाज्ञाको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ । प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ । यसतर्फ सरोकारवाला निकायले समेत चिन्ता, वास्ता र चासो देखाएको छैन ।
कविलासी नगरपालिका–२ पिपरियामा हालै सडकमै बिहे भोजको आयोजना गरिएको छ । सयौंको सङ्ख्यामा उपस्थित भएर स्थानीय भोज खाने कार्यक्रममा सहभागी भएका छन् । सडकमै भोज गर्ने र भोज चलिरहेकै समयमा अतिआवश्यकीय सवारी साधनहरु सञ्चालनमा समेत समस्या सिर्जना हुने गरेको एक एम्बुलेन्स चालक नागेन्द्र साहले गुनासो गर्नुभयो ।
गाउँका पसल र हाट बजारमा भीडभाड घटेको छैन । ‘‘प्रशासनले सामाजिक कार्य गर्र्नै परे १५ जनाभन्दा बढी उपस्थित नहुन निर्देशन दिएको छ, तर यहाँ सयौंको सङ्ख्यामा जम्मा हुने गरेका छन्”, उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाको पालना गराउन कुनै कसर बाँकी नराखिएको दाबी गर्नुभयो । ‘‘जनतामा चेतनाको कमी छ, तैपनि हामीले निषेधाज्ञा पालना गराउन लागिपरेका छौँ, सहरी क्षेत्रमा निषेधाज्ञा पूर्णरूपमा पालना भइरहेको छ, ग्रामीण भेगमा अलि समस्या छ,’’ उहाँले भन्नुभयो । यसमा स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।





प्रतिक्रिया राख्नुहोस्