जन सरोकार

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास गर्न थालिएको छ । गाउँपालिकाको पहिचानका रूपमा विकास भइसकेको ढाकाको कपडा, महलगायत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थालिएको हो ।

गाउँपालिका परिसरमा सञ्चालन भइरहेको ‘स्थानीय उत्पादन मेला २०८३’ मा स्थानीय उद्यमी आफ्ना उत्पादन देखाउन व्यस्त देखिन्छन् । मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष भेट गराउने अवसर जुटाएको छ ।

बडिगाड गाउँपालिका-७ मा दुनाटपरी उद्योग सञ्चालन गर्दै आउनुभएकी रविना थापाले मेलालाई आफ्नो उत्पादनको प्रचार गर्ने प्रभावकारी अवसरका रूपमा लिनुभएको छ । गाउँ नजिकैको वनमा खेर गइरहेको सालको पात प्रयोग गरेर दुनाटपरी उत्पादन गर्दै आएकी उहाँले बजार विस्तार अपेक्षाअनुसार हुन नसकेको गुनासो गर्नुभयो ।

विसं २०७८ मा करिब रु तीन लाख ५० हजार लगानी गरेर उद्योग सुरु गर्नुभएकी थापाले वर्षमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म कारोबार हुने गरेको जानकारी दिनुभयो । पूजाआजा र लगनका समयमा माग बढ्ने भएकाले आवश्यक पर्दा कर्मचारी राखेर उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।

‘थापा बहुउद्देश्यीय कृषि फार्म’ बाट उत्पादन भएको महको बजारीकरण गर्न बडिगाड–६ का जीतबहादुर थापा मेलामा सहभागी हुनुभएको छ । थापाले सेरेना जातका करिब १०० घार मौरीपालन गर्दै आउनुभएको छ ।

उहाँले वर्षमा ६० देखि ७० घार मौरीसहित गोला बिक्री गर्नुका साथै करिब सात क्विन्टल मह उत्पादन गरिरहेको जानकारी दिनुभयो । मह प्रतिकिलो रु एक हजार ३०० मा बिक्री हुने गरेको भन्दै उहाँले वार्षिक रु १५ लाखसम्म कारोबार र करिब रु आठ लाख नाफा हुने गरेको जानकारी दिनुभयो ।

बडिगाडको पहिचान बनिसकेको ढाका उद्योग सञ्चालक मायाकुमारी केसीले ढाकाबाट बनेका कपडाको बिक्री वितरण भइरहेको जानकारी दिनुभयो ।

‘बडिगाड ढाका एण्ड बुटिक उद्योग’ मार्फत छ जना महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने गरिएको उहाँले बताउनुभयो । केसीका अनुसार उद्योगमा रेशमका साडी, कुर्था, कोट, सल, झोला तथा टोपी उत्पादन हुँदै आएका छन् । स्थानीय बजारमा मात्रै सीमित रहेको व्यापार पछिल्लो समय अनलाइनमार्फत विस्तार हुन थालेको उहाँले बताउनुभयो ।

स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले ‘बडिगाड स्थानीय उत्पादन मेला २०८३’ आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन, जीप र दायित्व संस्थाको सहकार्यमा साताव्यापी मेला सञ्चालन गरिएको हो ।

“महिला बडिगाड उद्यमी आइकन छनोटका लागि विभिन्न चरणका कार्यक्रम सञ्चालन गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “हाल उत्कृष्ट १० को चरणमा प्रवेश गरेका छौँ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सघाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।”

गाउँपालिकाले स्थानीयका सटर भाडामा लिएर उद्यमीलाई निःशुल्क कक्ष उपलब्ध गराएको छ । गाउँका उद्यमीलाई बजारसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

पोषण सप्ताहसमेत सञ्चालन भइरहेकाले स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न र स्थानीय अन्नबाट बनेका परिकारलाई मेलामा प्राथमिकताका साथ राखिएको छ । एक गतेदेखि सञ्चालित मेला जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.