अर्थबिशेष

भारतको अवरोध हटेपछि नेपाली चिया निर्यात सहज

विगत तीन सातादेखि भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोध हटेको छ । परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासको पहलपछि आज बुधबारदेखि नेपाली चियाको निकासी पुनः सहज बनेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ले चियामा लागू गरेको अनिवार्य नमुना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) सम्बन्धी कडा व्यवस्था फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज बनेको हो ।

भारतीय टी बोर्डले मंगलबार राति नयाँ संशोधित सूचना (कोरिजेन्डम–२) जारी गर्दै पहिले लागू गरिएको प्रावधानमा लचकता अपनाएको हो । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई), भन्सार विभाग र टी बोर्डबीचको संयुक्त छलफलपछि नयाँ निर्णय गरिएको बताइएको छ ।

यसअघि भारतले १८ वैशाखदेखि लागू हुने गरी प्रत्येक चिया बोकेको ट्रकको अनिवार्य नमुना परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाअनुसार व्यवसायीले ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ शुल्क तिर्नुका साथै परीक्षण रिपोर्ट आउन कम्तीमा दुई सातासम्म कुर्नुपर्ने अवस्था थियो । यसको प्रत्यक्ष असर नेपाली चिया उद्योग, किसान र निर्यात व्यवसायीमा परेको थियो ।

व्यवसायीहरूका अनुसार परीक्षणको झन्झट, अतिरिक्त लागत र लामो प्रतीक्षाका कारण सयौं टन चिया सीमामा रोकिएको थियो भने निर्यात प्रायः ठप्प बनेको थियो । भारत नेपालको प्रमुख चिया बजार भएकाले यस अवरोधले उद्योगी, किसान, ढुवानी व्यवसायी र श्रमिकसमेत प्रभावित बनेका थिए ।

भारतले अब आन्तरिक बजारका लागि आयात हुने चियामा अनिवार्य परीक्षण नगर्ने स्पष्ट पारेको छ । भन्सार कार्यालय वा एफएसएसएआईले जोखिम व्यवस्थापन प्रणालीअनुसार आवश्यक परेमा मात्र छड्के नमुना परीक्षण गर्न सक्नेछन् । यससँगै हरेक ट्रकलाई सीमामा रोकेर जाँच गर्नुपर्ने बाध्यता हटेको छ ।

तर, भारतबाट तेस्रो मुलुकमा पुनः निर्यात गरिने चियाको हकमा भने कडा मापदण्ड यथावत् रहनेछ । भारतीय टी बोर्डले त्यस्ता चियाको गुणस्तर परीक्षण भने अनिवार्य गरिने जनाएको छ ।

साथै, परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने समयसीमा पनि घटाइएको छ । अब प्रयोगशालाले नमुना प्राप्त गरेको पाँच दिनभित्र रिपोर्ट अनलाइन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपालको अर्थतन्त्रमा चिया निर्यातको महत्त्वपूर्ण योगदान रहेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै नेपालबाट ३ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बराबरको चिया भारत निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ३३ करोड ५९ लाख रुपैयाँ बराबरको चिया भारत निकासी भइसकेको छ । यसैबीच, नेपाल–भारत व्यापार सम्बन्धमा पछिल्लो समय विभिन्न प्रकारका कर तथा भन्सार नीतिले पनि व्यवसायीलाई थप दबाब सिर्जना गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.