विश्व समाचार

५० प्रतिशतले अझै मास्क लगाउदैनन् अनि किन नबढोस् संक्रमण

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले हायलकायल भएको भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ ।

राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भन्नुभयो, “हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।”

उहाँले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिनुभयो । देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु रहेको पनि उहाँले बताउनुभयो ।

सहसचिव अग्रवालका अनुसार अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेका छन् । कर्नाटक, पश्चिम बंगाललगायतका केही राज्यहरुमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उहाँले बताउनुभयो ।

“कुनै एउटा व्यक्तिले सामाजिक दुरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,” उहाँले भन्नुभयो । अध्ययनका आधारमा पनि उहाँले सामाजिक दुरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिनुभयो ।

भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोरोनाभाइरसको दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ ।

भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी हुनसक्ने विज्ञहरुले दावी गरेका छन् । भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या भने घटेको देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन् ।

भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.