प्रदेशसुदूरपश्चिम

स्थायी कमिटीको निर्देशन प्रदेश संसदीय दलद्वारा अवज्ञा

सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशन

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ । एमालेको स्थायी कमिटीले सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

अहिले तत्कालका लागि कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलसँग छलफल गर्ने निर्णय गरिएको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिनुभयो ।

उहाँले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा नआएको बताउनुभयो । साथै हालसम्म प्रदेश सरकारविरुद्धको लडाइँमा रहेको र आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकाले सरकारबाट नबाहिरिने निर्णय गरिएको जोशीले जानकारी दिनुभयो ।

संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गरेपछि सो पार्टीको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ ।

पार्टी स्थायी कमिटीले निर्देशन दिएको दुई दिनपछि एमाले प्रदेश कमिटीले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ सहित मन्त्रीलाई निर्देशनसहित पत्र दिएको छ । प्रमुख सचेतक तामाङलाई प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गराउन निर्देशन दिइएको छ ।

प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी सबै एमालेबाट निष्काशित नेता माधवकुमार नेपाल समूहका हुनुहुन्छ ।

एमाले प्रदेश कमिटीले तिनै मन्त्रीलाई फिर्ता भएर एमाले नेतृत्वमा सरकार बनाउन सहयोग गर्न निर्देशन दिइएको छ । प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सचेतकसहित तिनै मन्त्रीलाई निर्देशनसहित पत्र पठाउनुभएको हो । एमाले प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले स्थायी कमिटीको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन मन्त्रीलाई फिर्ता हुन निर्देशनसहित पत्र दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.