जन सरोकार

नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरी उपर्युक्त पदहरूमा दरखास्त आह्वान गरेको हो ।

समितिले यही जेठ ११ मा स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरिएको छ ।

इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा दिइएको www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिनेछ ।

उल्लिखित कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ । नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन कार्यविधि बनाएर पदाधिकारी छनोट गर्न लागिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १६ क बमोजिम विश्वविद्यालयका कुलपतिबाट सिफारिस समिति गठन भएको एवं उच्च शिक्षाको क्षेत्रमा अनुभव भएका योग्यतम व्यक्ति खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट गरी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था भएअनुरूप उम्मेदवार छनोटका विधि, आधार, प्रक्रिया तय गरी नियुक्तिको लागि सिफारिस गर्न समितिले कार्यविधि बनाइएको हो ।

कार्यविधिअनुसार समितिले उम्मेदवारबाट पेस भएका योग्यता, अनुसन्धानमूलक लेख, विश्वविद्यालयसम्बन्धी शोधपत्र तथा विश्वविद्यालयको चारवर्षे रणनीतिक कार्य योजनसहितको मूल्याङ्कन, उम्मेदवारले गरेको प्रस्तुतीकरण तथा भएका अन्तर्वार्ता आधारमा उपलब्ध भएसम्म क्रमशः तीन÷तीन जना उम्मेदवार छनोट गरी योग्यताका आधारमा उपकुलपतिको हकमा ऐनको दफा १६ को उपदफा (३), शिक्षाध्यक्षको हकमा ऐनको दफा १७ को उपदफा (१) र कुलसचिवको हकमा ऐनको दफा १८ को उपदफा (१) बमोजिम नियुक्तिका लागि सिफारिस गर्नेछ ।

कार्यविधिअनुसार उपकुलपति र शिक्षाध्यक्ष छनोट विधिमा मूल्याङ्कन १०० पूर्णाङ्कमा आधारित हुनेछ । प्रकाशित अनुसन्धान, पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई अङ्क दिइनेछ भने अत्यधिक कम वा धेरै अङ्क दिँदा कारण खुलाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

नयाँ कार्यविधिले उपकुलपति बन्न कम्तीमा विद्यावारिधि उपाधि हासिल गरेको अनिवार्य गरेको छ भने कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र र राजनीतिक दलको सदस्य नरहेको र लेख रचना प्रकाशन गरेको भए सोको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

यस्तै, बढीमा पाँच हजार शब्दसम्मका नेपाल संस्कृति विश्वविद्यालयसम्बन्धी शोधपत्र र नेपाल संस्कृति विश्वविद्यालयका लागि आफ्नो चारवर्षे रणनीति कार्ययोजना पेस गर्नुपर्नेछ ।

कुलसचिवका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, उच्च शिक्षामा प्राविधिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा १० वर्षको अनुभव भएको प्रमाण पेस गर्नुपर्नेछ ।

बढीमा पाँच हजार शब्दसम्मका नेपाल संस्कृति विश्वविद्यालयसम्बन्धी शोधपत्र र नेपाल संस्कृति विश्वविद्यालयका लागि आफ्नो चारवर्षे रणनीति कार्य योजना पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.