अर्थ

लकडाउनमा सुनचाँदी बजार- एकतर्फी मूल्य तोक्दा सुन तोलाको ८६ हजार

लकडाउनका बेला आर्थिक कारोेबार लगभग ठप्प भए पनि निश्चित समय व्यवसाय संचालन गर्न पाइने हुँदा सुनचाँदीदेखि अन्य कारोबारहरु छोटै समय भए पनि हुने गर्दछ र यसमा सुनचाँदी पनि एक हो । तर, सुनचाँदीको मूल्य कति पुग्यो होला भन्ने अनुमान हामी कसैले गर्न सकेका छैनौं ।

यसबीचमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । महासंघले सुन चाँदीको मूल्य नतोकेपछि रत्न तथा आभूषण महासङ्घले बुधबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८९० निर्धारण गर्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा बुधबार एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनको कारोवार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो ।
सुनचाँदी व्यवासायी महासङ्घले सरकारले कोभिड–१९ को महामारी फैलन सक्ने भन्दै देशव्यापी लकडाउन गरेका कारण नयाँ मूल्य तोक्न नसकिएको प्रष्टीकरण दिएको छ । सामान्यतयाः नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण गर्ने गरेको छ । महासङ्घका तर्फबाट नयाँ कारोबार मूल्य निर्धारण नहुँदै एकाएक आभूषण महासङ्घले मूल्य सार्वजनिक गरेपछि व्यवसायीका साथै उपभोक्ता पनि अन्योलमा परेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले रत्न तथा आभूषण महासङ्घका तर्फबाट सुनचाँदीको मूल्य सार्वजनिक भएसँगै बजारमा अन्योल सिर्जना भएको बताउनुभयो । “सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेको छ, लकडाउनमा अत्यावश्यकबाहेकका सबै व्यापार व्यवसाय बन्द छन्”, उहाँले भन्नुभयो, “दरभाउ निकाल्ने विषयमा आभूषण महासङ्घकातर्फबाट जानकारी माग भएको थियो, हामीले सरोकारवालासँग छलफल गरेर तय गरौँला भन्यौँ, तर उहाँहरूले मूल्य तोकिदिनुभएछ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँगको परामर्शमा सुनको भाउ तय गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष सुनारले जिल्ला जिल्लाबाट व्यवसायीले नयाँ मूल्य तोकेर दिन आग्रह गर्दै आएको पनि जानकारी दिनुभयो । सुनचाँदी व्यवसायी महासङ्घले विज्ञप्ति जारी गरेरै लकडाउन शुरु भएयता अन्य व्यवसायजस्तै सुनचाँदी व्यवसाय पनि बन्द रहेको र यस अवधिमा दर प्रकाशन नभएको जनाएको छ । महासङ्घले अर्को सूचना प्रकाशित नभएसम्म दैनिक दरभाउ प्रकाशन नगर्ने पनि स्पष्ट पारेको छ ।

यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउअनुसार सुनचाँदीको बजार मूल्य धेरै फरक भइसकेको अवस्थामा दुई महिनादेखि पुरानै बजार भाउले उपभोक्तामा अन्योल सिर्जना गरेकाले नयाँ दरभाउ तोकिएको जिकिर गरेको छ ।

महासङ्घको यही जेठ १२ गतेको कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई सुनचाँदीको मूल्य कायम गरी प्रकाशन गर्ने निर्णय भएअनुसार नै आजदेखि नयाँ मूल्य सार्वजनिक गरिएको महासचिव कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.