जल/वातावरण

नेपालमा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएसंग संख्याले हजारको आँकडा नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।

रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।

यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५ देखि ४५ वर्षका छन् । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतकै १३, बझाङका एक र पहिचान खुल्न नसकेकी एक महिला गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ र २६ वर्षका पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नं. २ भयावह बन्दै सक्रमितको संख्या चारसय बढी
नेपालमा प्रदेश नं २ कारोना संक्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ । बिहिबार दिउँसोसम्म त्यहाँ संक्रमितको संख्या ४ सय नाघेको छ । बुधबारसम्म ३ सय २४ मा सङ्क्रमण पुष्टि भएको प्रदेशमा दिउँसोसम्म गरी एकसयभन्दा बढीमा संक्रमण भएको पुष्टि भएको छ ।

मङ्गलबारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पछिल्लोपटक सङ्क्रमण पुष्टि भएकाहरुमा सबैभन्दा बढी सङ्क्रमित रौतहटमा ११२ पुगेका छन् । त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ । भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको हो । प्रदेशमा सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउनुहुन्छ ।

प्रदेशमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । बुधबारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब सङ्कलन गरिएको छ । प्रदेशभित्र १० हजार ५८९ को स्वाब सङ्कलन भएको निर्देशनालयले जनाएको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब सङ्कलन अन्य प्रदेशमा भएको जनाइएको छ । प्रदेशका आठै जिल्लाका क्वारेन्टिन केन्द्रमा आज पनि स्वाब सङ्कलन गरिँदैछ ।

स्वाब परीक्षण गरिएकामध्ये बिहिबार बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ । प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टिन केन्द्र बनाइएका छन् । सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टिन केन्द्र थपिएका हुन् । यसअघि १८१ केन्द्र सञ्चालित थिए । अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ श्यया छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टिनमा चार हजार ९०३ रहेका उहाँले बताउनुभयो ।

त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन श्यया तयार छन् । अहिले १८९ जना शङ्कास्पद आइसोलेसनमा छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन् । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.