बिचार

एउटै घरभित्र तीन दशकको इतिहास

धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ तर घरभित्र पस्नेबित्तिकै त्यहाँको वातावरण फरक महसुस हुन्छ । कोठाका दराज, भित्ताका कुनाकाप्चा र ¥याकमा सजाएर राखिएका पुराना सामग्रीले आगन्तुकलाई दशकौँ पुरानो समयतिर पुर्याउँछ ।

घरभित्र कुनै समय नेपाली समाजको दैनिकीमा प्रयोग भएका रेडियो, ग्रामोफोन र टेलिफोन रहेका छन् । पुराना भाँडाकुँडा र कृषि औजार पनि छन् ।

राणा शासनकालको इतिहास सम्झाउने चन्द्रशमशेरकालीन इँटा र माटाका पाइप छन् । धनकुटाको पुरानो स्वरुप देखाउने दुर्लभ तस्बिर रहेका छन । त्यति मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका महत्वपूर्ण दस्तावेज पनि त्यहीँ सुरक्षित रहेका छन् ।

तीमध्ये एउटा सामान्य देखिने कागजले विशेष अर्थ राख्छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा नेपाली काँग्रेसका तत्कालीन राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले जयनारायण श्रेष्ठसँग भरुवा बन्दुक र गोली लिएको भर्पाइ हो त्यो ।

बन्दुक फिर्ता गर्ने शर्तमा बनाइएको भर्पाइ हो त्यो । तर, बन्दुक लिएको प्रमाणका रुपमा तयार पारिएको त्यो कागज भने पुस्तौँ पार गर्दै अहिले पनि सुरक्षित रहेको छ । यस्ता ऐतिहासिक सामग्रीको संरक्षण धनकुटा नगरपालिका–६, सिरान बजारका मनोजनारायण श्रेष्ठ गर्दै आउनुभएको हो ।

शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा श्रेष्ठले तीन दशकभन्दा बढी समयदेखि पुराना वस्तु, ऐतिहासिक कागजात, तस्बिर तथा स्मृति चिन्ह सङ्कलन गर्दै आफ्नै घरलाई सानो तर महत्वपूर्ण सङ्ग्रहालयका रूपमा विकास गर्नुभएको छ ।

उहाँले स्थापना गर्नुभएको शहीद भीमनारायण श्रेष्ठ स्मृति सङ्ग्रहालय अहिले धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक स्मृतिको एउटा निजी अभिलेखजस्तै बनेको छ ।

एक विदेशीको प्रश्नले सुरु भएको संरक्षण यात्रा

मनोजनारायण श्रेष्ठको पुराना वस्तु सङ्कलन गर्ने यात्रा कुनै पूर्वयोजनाबाट सुरु भएको थिएन । एउटा सामान्य घटनाले उहाँलाई पुराना सम्पदा र वस्तुको महत्वबारे सोच्न बाध्य बनाएको थियो । २०५१ सालमा उहाँ जापानी नागरिकहरूसँग काम गर्नुहुन्थ्यो ।

एक दिन जापानी टोलीलाई लिएर धनकुटा बजारको हुलाकटोल हुँदै चारचौतारातर्फ जाने क्रममा अहिलेको जिल्ला प्रहरी कार्यालय नजिक पुगेपछि टोलीका सदस्यहरुले अचानक गाडी रोकेर हिँड्न लगाएका थिए । त्यो बेला सडकमा बिछ्याइएको पुरानो ढुङ्गा हेर्न उनीहरू गाडीबाट ओर्लिएको मनोजनारायणले बताउनुभयो ।

‘‘उनीहरु किन गाडीबाट ओर्लिए भनेर दोभासेमार्फत सोधेको थिएँ”, श्रेष्ठ सम्झनुहुन्छ, ‘‘उनीहरुले त्यो ढुङ्गे सडक पुरातात्विक सम्पदा भएकाले त्यसको संरक्षण गर्नुपर्ने र त्यसमाथि गाडी चलाउँदा ढुङ्गा फुट्नसक्ने बताएका थिए ।’’

विदेशी नागरिकले धनकुटाको एउटा पुरानो ढुङ्गाप्रति देखाएको संवेदनशीलताले उहाँलाई गहिरो प्रभाव पारेको उहाँको भनाइ छ । “धनकुटा हाम्रो, बाटो हाम्रो, ढुङ्गा पनि हाम्रो, तर त्यसको माया चाहिँ विदेशीलाई लाग्ने ?” उहाँले त्यसबेला मनमा उठेको प्रश्न सुनाउनुभयो ।

त्यही घटनापछि उहाँले पुराना वस्तु जोगाउने र सङ्कलन गर्ने सोच बनाएको बताउनुभयो । सानो प्रयासबाट सुरु भएको उहाँको अभियान तीन दशकभन्दा बढी समयपछि ठूलो व्यक्तिगत सङ्ग्रहमा परिणत भएको छ । अहिले उहाँसँग २००भन्दा बढी महत्वपूर्ण तथा दुर्लभ ऐतिहासिक सामग्री सुरक्षित छन् ।

एउटा भर्पाइ, जसले इतिहासको कथा सुनाउँछ

सङ्ग्रहालयमा रहेका सबै सामग्रीमध्ये २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित दस्तावेजलाई विशेष महत्व दिइएको छ । त्यसमध्ये जयनारायण श्रेष्ठसँग तत्कालीन नेपाली कांग्रेसका राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले भरुवा बन्दुक र त्यसका गोली लिएको भर्पाइ महत्वपूर्ण मानिन्छ ।

राणा शासनविरुद्धको सशस्त्र आन्दोलनका क्रममा तत्कालीन राजनीतिक गतिविधिका लागि बन्दुक आवश्यक परेपछि कोइरालाले जयनारायणसँग उक्त हतियार लिएको बताइएको छ ।

क्रान्ति सम्पन्न भएपछि फिर्ता गर्ने सर्तमा बन्दुक लिइएको प्रमाणका रुपमा भर्पाइ गरिएको थियो । क्रान्ति सम्पन्न भयो । राजनीतिक व्यवस्था पनि परिवर्तन भयो । तर, त्यो बन्दुक श्रेष्ठ परिवारमा फर्किएन । बन्दुकको सट्टा त्यसको सम्झना बोकेको एउटा कागज मात्र परिवारसँग रह्यो ।

जयनारायण सहिद भीमनारायणका बुबा तथा मनोज नारायणका हजुरबुबा हुन् । ‘‘त्यो सामान्य कागजजस्तो देखिए पनि यसको ऐतिहासिक महत्व धेरै ठूलो छ’’, श्रेष्ठले बताउनुभयो, ‘‘त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण घटनालाई सम्झाइरहेको छ ।’’ आज त्यो भर्पाइ सङ्ग्रहालयको महत्वपूर्ण सामग्री बनेको छ ।

चन्द्रशमशेरकालीन इँटादेखि राणाकालीन माटाका पाइपसम्म

सङ्ग्रहालयमा राजनीतिक इतिहाससँग सम्बन्धित सामग्री मात्र छैनन् । नेपाली समाजको जीवनशैली, प्रविधि र निर्माण संस्कृतिसँग सम्बन्धित सामग्री पनि उत्तिकै महत्वपूर्ण छन् । चन्द्रशमशेरको पालामा निर्माण गरिएका इँटा यहाँ सुरक्षित छन् ।

राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइप पनि सङ्ग्रहालयमा राखिएका छन् । पुराना सञ्चार उपकरणले तत्कालीन प्रविधिको झल्को दिन्छन् । ग्रामोफोन, रेडियो र टेलिफोनले सञ्चार र मनोरञ्जनका पुराना दिन सम्झाउँछन् ।

घरायसी भाँडाकुँडा, काठ तथा माटाबाट बनेका सामग्री र कृषि औजारले तत्कालीन समाजको दैनिकी बुझ्न सहयोग गर्छन् । यी सामग्रीमध्ये धेरै अहिलेको पुस्ताले देख्नसमेत पाएको छैनन् । त्यसैले सङ्ग्रहालय पुराना वस्तु थन्क्याइएको स्थान मात्र नभएर पुस्ताबीचको सम्बन्ध जोड्ने माध्यम पनि बनेको श्रेष्ठको भनाइ छ ।

पुरानो धनकुटा तस्बिरमा जीवित छ

मनोजनारायण श्रेष्ठले धनकुटाका पुराना तस्बिरलाई पनि प्राथमिकताका साथ सङ्कलन गर्नुभएको छ । करिब ६० देखि ७० वर्षअघि खिचिएका धनकुटाका विभिन्न स्थानका तस्बिर सङ्ग्रहालयमा सुरक्षित छन् । ती तस्बिरमा पुरानो धनकुटा देखिन्छ ।

त्यतिबेलाको बजार, सडक, घर, बस्ती र मानिसको जनजीवन देखिन्छ । अहिले धेरै कुरा परिवर्तन भइसकेका छन् । कतिपय घर भत्काएर नयाँ बनाइएका छन् भने धेरै घरहरु थपिएका छन् । कतिपय बाटाघाटा फेरिएका छन् । पुरानो बजारको स्वरुप बदलिएको छ । तर ती सबै दृश्य तस्बिरमा अझै जीवित छन् ।

पुराना तस्बिरले धनकुटाले समयको लामो यात्रामा पार गरेको परिवर्तनलाई बुझ्न सहयोग गर्ने श्रेष्ठले बताउनुभयो । ‘‘आज सामान्य लाग्ने कुनै कागज वा तस्बिर पनि भोलि महत्वपूर्ण इतिहास बन्न सक्छ’’, उहाँले भन्नुभयो, ‘‘त्यसैले धनकुटासँग सम्बन्धित भेटिएका सामग्री सकेसम्म सुरक्षित राख्ने प्रयास गर्दै आएको छु ।’’

बुबाको स्मृतिलाई संग्रहालयमा सुरक्षित राख्दा

सङ्ग्रहालयको अर्को महत्वपूर्ण पाटो शहीद भीमनारायण श्रेष्ठसँग सम्बन्धित सामग्री हो । मनोजनारायण श्रेष्ठका बुबा भीमनारायण श्रेष्ठ नेपाली राजनीतिक इतिहासका एक चर्चित व्यक्तित्व हुनुहुन्छ ।

उहाँसँग सम्बन्धित कपडा, घडी, चिठीपत्र, व्यक्तिगत सामग्री तथा विभिन्न दस्तावेज सङ्ग्रहालयमा सुरक्षित छन् । यी सामग्रीमा उहाँको राजनीतिक सङ्घर्ष मात्र होइन, परिवारले भोगेको पीडा र तत्कालीन राजनीतिक परिस्थितिको चित्र पनि भेटिन्छ ।

भीमनारायण श्रेष्ठलाई २०३० साल चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सहभागी कार्यक्रममा भएको बम प्रहार घटनापछि पक्राउ गरिएको थियो ।

उहाँमाथि राज्यविरुद्धको गतिविधि तथा राजामाथि बम प्रहारसम्बन्धी अभियोग लगाइएको थियो । विशेष अदालतले उहाँलाई मृत्युदण्डको फैसला सुनायो । २०३५ माघमा कोशी टप्पु पुर्याएर उहाँलाई गोली हानी मृत्युदण्ड दिइएको थियो ।

उहाँको जेलजीवन, सङ्घर्ष र पञ्चायतकालमा राज्यद्रोहको मुद्दा लागेपछि वकिलसमेत नपाएको अवस्थासँग सम्बन्धित कागजात पनि संग्रहालयमा सुरक्षित छन् । ‘‘बुबासँग सम्बन्धित सामग्री जोगाउनु मेरो व्यक्तिगत दायित्व पनि हो’’, श्रेष्ठले बताउनुभयो, ‘‘यी सामग्रीले उहाँको सङ्घर्ष र परिवारले भोगेको अवस्थालाई नयाँ पुस्तासम्म पु¥याउन सहयोग गर्छ ।’’

अनुसन्धानकर्ताका लागि पनि महत्वपूर्ण स्रोत

घरभित्र सुरु भएको निजी सङ्ग्रह अहिले विद्यार्थी र अनुसन्धानकर्ताको अध्ययनस्थल पनि बन्न थालेको छ । इतिहास, संस्कृति, वास्तुकला र सामाजिक परिवर्तनसँग सम्बन्धित अध्ययन गर्ने विद्यार्थी तथा अनुसन्धानकर्ता संग्रहालय पुग्ने गरेका छन् ।

धरान इन्जिनियरिङ क्याम्पस तथा मदन भण्डारी प्रतिष्ठान, उर्लाबारी मोरङका विद्यार्थी र इन्जिनियरहरूले पुराना वास्तुकलाका नमुना अध्ययन गर्न सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् । पुराना इँटा, माटाका पाइप, निर्माण सामग्री तथा घरायसी वस्तुले तत्कालीन प्रविधि र जीवनशैली बुझ्न सहयोग गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।

मनोजनारायणले सङ्कलन गर्नुभएको सामग्री नयाँ पुस्ताका लागि महत्वपूर्ण ऐतिहासिक स्रोत बनेको स्थानीय राजेश्वर श्रेष्ठले बताउनु भयो । ‘‘समयसँगै प्रयोगबाट हराउँदै गएका धेरै सामग्री अहिले कतै भेटिँदैनन्’’, राजेश्वरले भन्नुभयो, ‘‘यस्ता सामग्री सुरक्षित हुनु भनेको समुदाय र मुलुकको इतिहासलाई सुरक्षित गर्नु हो ।’’

राजनीतिक इतिहाससँग सम्बन्धित सामग्री मात्र नभएर दैनिक जीवनसँग जोडिएका वस्तु सुरक्षित हुनु सङ्ग्रहालयको विशेष पक्ष भएको उहाँले बताउनुभयो ।

शहीद भीमनारायण श्रेष्ठसँग सम्बन्धित दस्तावेज र सामग्री अवलोकन गर्न नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पनि सङ्ग्रहालय पुग्ने गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, नेताहरु प्रकाशमान सिंह र मिनेन्द्र रिजाललगायत विभिन्न राजनीतिक व्यक्तित्वले सङ्ग्रहालयको अवलोकन गरिसकेको मनोज नारायणले बताउनुभयो ।

विशेषगरी भीमनारायण श्रेष्ठको राजनीतिक जीवनसँग सम्बन्धित दस्तावेजले लोकतान्त्रिक आन्दोलनको इतिहास बुझ्न सहयोग गर्ने उहाँको भनाइ छ ।

एउटा घरबाट सुरु भएको मौन अभियान

मनोजनारायण श्रेष्ठको सङ्ग्रहालय कुनै सरकारी परियोजनाबाट बनेको होइन । न त यसका लागि ठूलो बजेट छुट्याइएको छ । घरको एउटा सानो कुनाबाट सुरु भएको सङ्कलन यात्रा उहाँकै व्यक्तिगत लगानी, समय र मेहनतबाट विस्तार हुँदै आएको हो ।

साथीभाइ, आफन्त, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट प्राप्त सामग्री पनि सङ्ग्रहमा थपिँदै गए । कतिपय सामग्री उहाँ आफैँले खोज्नुभयो । कतिपय मानिसले महत्व बुझेर उहाँलाई उपलब्ध गराए । यसरी विस्तारै घर नै सङ्ग्रहालयमा परिणत भएको हो । अहिले एउटै घरमा दुई सयभन्दा बढी दुर्लभ सामग्रीसँगै ऐतिहासिक दस्तावेज रहेका छन् ।

इतिहास संरक्षण सजिलो काम भने होइन । पुराना कागजातलाई सुरक्षित राख्न वातावरण चाहिन्छ । तस्बिर बिग्रन नदिन संरक्षण चाहिन्छ । पुराना धातु, काठ, माटो र कागजबाट बनेका वस्तुलाई समयको असरबाट बचाउन निरन्तर हेरचाह आवश्यक हुन्छ । तर मनोजनारायण श्रेष्ठले आफ्नै स्रोत र साधनबाट यो कामलाई निरन्तरता दिइरहनुभएको छ ।

राज्यस्तरबाट पर्याप्त संरक्षण, बजेट वा प्रोत्साहन नपाए पनि उहाँले सङ्कलन र संरक्षणको कामलाई निरन्तरता दिनुभएको छ । उहाँका लागि यो केवल व्यक्तिगत रुचिको विषय भएपनि धनकुटाको इतिहाससँग जोडिएको जिम्मेवारी बनेको छ ।

‘‘अहिले संरक्षण नगरे केही वर्षपछि धेरै सामग्री सधैँका लागि हराउन सक्छन्’’, श्रेष्ठले बताउनुभयो, ‘‘त्यसैले भेटिएका ऐतिहासिक सामग्रीलाई सम्भव भएसम्म जोगाएर राख्ने प्रयास गरिरहेको छु ।’’ (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.