जल/वातावरण

लकडाउनमा उच्च जोखिममा गर्भवती : अघिल्लो वर्षको तुलनामा चारगुणा बढी मृत्यु

मुलुकमा कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण दीर्घरोगीहरुमाथि धेरैको चासोे रहे पनि सबभन्दा बढी जोखिममा भने गर्भवती तथा सुत्केरी महिला परेका छन् । लकडाउनको दुई महिनाको यो अवधिमा समयमै उपचार नपाएर ३ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ ।

प्रारम्भिक उपचारमा समेत नपाएर यो अवधिमा मृत्यु भएको संख्या अघिल्लो वर्षको तुलनामा चारगुणा बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका प्रमुख डा. पुन्या पौडेलका अनुसार गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका थिए ।

उहाँका अनुसार लकडाउनको अवधिमा २८ जना गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै ज्यान गएको छ । लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको हो ।

शाखाका अनुसार लकडाउनको अवधिमा रौतहटको गौर अस्पताल, हेल्पिङ ह्याण्ड, सप्तरी, कलैया अस्पताल बारा, शिक्षण अस्पताल, कालिकोट, मेहलकुना अस्पताल सुर्खेत, पाँचथर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, धुलिखेल अस्पताल, चितवन मेडिकल कलेज, पोखरामा एकएक जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान गएको छ ।

यस्तै कपिलवस्तु अस्पतालमा दुई जना, युनिभर्सल मेडिकल कलेज रुपन्देहीमा तीन जना, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना, कोहलपुर मेडिकल कलेजमा पाँच जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् । घरमै सुत्केरी हुँन खोज्दा अछाम र बारामा एकएक जना महिलाको ज्यान गएको बताइएको छ ।

यातायातको असुविधाका साथै अस्पताल गए रोग सर्छ भन्ने डर जस्ता कारणले अन्तिम अवस्थामा मात्रै अस्पताल पुर्‍याउनु, रक्तश्राव, परिवारको लापरबाही, पाठेघर फुटेको जस्ता समस्याले अस्पताल पुगे पनि बचाउन नसकिएको चिकित्सकहरू बताउँछन् । त्यस्तै नर्मल डेलीभरी गाउँकै स्वास्थ्य संस्थामा हुने र जटिल भएपछि अन्तिम अवस्थामा मात्रै सुविधासम्पन्न अस्पतालमा पुग्ने भएकोले बचाउन कठिन हुने गरेको छ ।

त्यसो त लकडाउनको अवधिमा गर्भवती तथा सुत्केरी महिलाको स्याहार कसरी गर्ने भन्ने सम्बन्धी गाइडलाइन बनाएको हुँदा अब स्वास्थ्य सेवा सुलभ हुने दाबी मातृ तथा नवशिशु शाखाको छ ।

गाउँमा सडक सुविधा नहुनु, भएपनि एम्बुलेन्सजस्ता यातायातका साधन नपाइनु, नीजि गाडीलाई चर्को भाडा तिर्नुपर्ने, डोको, स्ट्रेचरमा स्वास्थ्य संस्था वा सडक भएको ठाउँमा ल्याउनु पर्ने बाध्यताले गर्दा पनि समयमै अस्पताल पुर्‍याउन नसकिएको आफन्तहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १३५ र गतबर्ष २०८ जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका छन् ।यसपाली लकडाउन हुनुभन्दा अघि माघमा ८ र फागुनमा ११ जना गर्भवती तथा सुत्केरी महिलाको मुत्यु भएको थियो । लकडाउनको अवधिमा खासगरी गर्भवती तथा सुत्केरी महिलाहरू बढी जोखिममा परेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

कोरोना सङ्क्रमणको डरले कतिपय गर्भवती तथा सुत्केरी घरमै बस्नु परेकोले नियमित स्वास्थ्य चेकजाँचमा जान नपाएको गुनासो गर्छन् । यस्तो अवस्थामा गर्भवती तथा सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्ने भएकोले पूर्व सावधानी अपनाउनु पर्ने चिकित्सहरू सल्लाह दिन्छन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.