दुर्गन्धित क्वारेन्टाइन स्थलका कारण समुदायमा कोरोना फैलिने जोखिम
सिरहाका विभिन्न गाउँपालिकास्थित क्वारेन्टानमा बसेकाहरुले सरसफाइमा ध्यान नदिँदा क्वारेन्टानस्थल दुर्गन्धितसँगै सङ्क्रमण समुदायमै फैलिने जोखिम बढेको छ । भारतबाट फर्केर सिरहाको बरियारपट्टि र औरही गाउँपालिकास्थित क्वारेन्टानमा बसेकाहरुले जथाभावी फोहर फाल्ने र व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा क्वारेन्टाइनस्थल दुर्गन्धित बन्नुका साथै समुदायमै कोरोना फैलिने जोखिम बढेको हो ।
बरियारपट्टि गाउँपालिका–३ स्थित जनता माध्यमिक विद्यालय प्राविधिकको क्वारेन्टाइनमा बसेकाहरुले चिया नास्ता र खाना खाएको कागजको प्लेट तथा प्लाष्टिकको गिलास जथाभावी फाल्दा क्वारेन्टाइनस्थल दुर्गन्धित बनेको स्थानीयवासीले गुनासो गरेका छन् । “प्लेट, गिलास र प्लाष्टिकका झोला जताततै फालिएको छ”, बरियारपट्टि गाउँपालिकाका मुकेश यादवले भन्नुभयो, “जसका कारण क्वारेन्टाइनस्थल त दुर्गन्धित बनेको छ नै जथाभावी फालिएको फोहरका कारण बस्तीमा कोरोना भाइरससँगै अन्य रोगको सङ्क्रमण फैलिने जोखिम बढेको छ ।” क्वारेन्टाइनमा बसेकाहरुले व्यवस्थितरुपमा फोहर नफाल्दा यतिबेला क्वारेन्टाइनस्थल वरिपरि दुर्गन्धले त्यहाँ जान नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।
बरियारपट्टि गाउँपालिकाले बनाएको सो क्वारेन्टाइनमा भारतबाट फर्किएका ६८ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बसेकाका लागि बरियारपट्टि बजारबाट प्लाष्टिकको झोलामा खाना प्याकिङ गरी पुर्याउने गरिएको छ । होटल सञ्चालकले प्लाष्टिकको झोलामा प्याकिङ गरी पठाएको खाना, नास्ता र चिया खाएपछि प्लेट र गिलास खाल्डो खनेर पुर्नुपर्नेमा त्यसो नगर्दा क्वारेन्टाइनस्थल दुर्गन्धित हुनाका साथै ती फोहर बस्तीसम्मै पुग्ने गरेकाले बस्ती नै सङ्क्रमणको जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।
बरियारपट्टि गाउँपालिकासँगै टाँसिएको औरही गाउँपालिकाको क्वारेन्टाइनमा पनि यस्तै समस्या देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । “क्वारेन्टाइनस्थलमा थोरै सङ्ख्यामा शौचालय छ”, औरही गाउँपालिका–४ का शिवदयाल यादवले भन्नुभयो, “जसका कारण क्वारेन्टाइनमा बसेकाहरु खुल्लारुपमै शौच गर्दा दुर्गन्ध फैलिएको छ, वरिपरि बस्ने अवस्था छैन ।”
औरही गाउँपालिकाले स्थानीय विद्यालयमा बनाएको क्वारेन्टाइनमा अहिले ५५ जना बसेको प्रहरी चौकी औरहीका प्रहरी हवल्दार उमेश यादवले बताउनुभयो । “क्वारेन्टाइनमा बसेकाहरुले क्वारेन्टाइन नजिकै रहेको पोखरीको डिलमा खुल्ला शौच गर्नाका साथै प्लेट र गिलाससमेत फाल्ने गरेका कारण पोखरीसमेत दुर्गन्धित बनाएको छ”, औरहीका अर्का स्थानीय दिलीप यादवले भन्नुभयो, “यो विषयमा पटक पटक गाउँपालिकाका अध्यक्षलाई जानकारी गराउँदासमेत सरसफाइतर्फ कुनै पहल हुन सकेको छैन ।” जसका कारण सिङ्गो गाउँले समस्यामा परेको उहाँले बताउनुभयो ।
यता बरियारपट्टि गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले क्षमताभन्दा बढी व्यक्ति आएकाले क्वारेन्टाइन व्यवस्थापन गर्न समस्या भइरहेको बताउनुभयो । “क्वारेन्टाइनमा ५० जना राख्न सक्ने क्षमता छ, त्यहीअनुसार हामीले श्यया, झुल, साबुनलगायतको व्यवस्था मिलाएका छौँ, तर त्योभन्दा बढी व्यक्ति भएकाले व्यवस्थापन मिलाउन समस्या भइरहेको छ ।” भारतबाट फर्किएका अधिकांशमा कोरोना सङ्क्रमण देखिएकाले क्वारेन्टाइनको सरसफाइ गर्न बाहिरका व्यक्ति नमानेकाले पनि फोहर थुप्रिएको उहाँले स्वीकार्नुभयो ।
“क्वारेन्टाइनको सरसफाइ गरिदिन थुप्रै व्यक्तिलाई आग्रह गरेँ तर कसैले मानेनन्”, गाउँपालिकाका अध्यक्ष महतोले भन्नुभयो, “त्यसपछि झाडु किनेर क्वारेन्टाइनमा बसेकालाई नै सरसफाइ गर्न जिम्मा दिएका छौँ, उहाँहरुले भित्र मिलाएर सरसफाइ गर्ने गरे पनि बाहिर सरसफाइ हुन सकेको छैन ।” “विद्यालयमा भएका चारवटा शौचालयबाट नपुग्ने भएपछि थप ६ वटा शौचालय बनाएका छौँ”, उहाँले भन्नुभयो, “हामीले शौचालय त बनाइदियौँ तर शौचालय सफा गर्ने व्यक्ति नहुँदा दुर्गन्धित बनेको छ, के गर्ने के नगर्ने भन्ने हामीलाई समस्या भइरहेको छ ।” सरसफाइको समस्या भएपछि स्थानीयवासीबाट क्वारेन्टाइन अन्यत्र सार्न दबाब आउने थालेको गाउँपालिका अध्यक्ष महतोको दुखेसो छ । यद्यपि वैकल्पिक उपायबारे सोचिरहेको उहाँको भनाइ छ ।
“एकातिर भारतबाट दैनिक आउनेको सङ्ख्या बढ्दै गएको छ अर्कोतिर कोरोना परीक्षण गर्ने किट छैन”, औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भन्नुभयो, “किट नभएपछि क्वारेन्टाइनमा १४ दिन बिताएकालाई पनि घर पठाउन सकिरहेका छैनौँ ।” जसका कारण क्वारेन्टाइनको व्यवस्थापनसँगै सरसफाइमा चुनौती बढ्दै गएको अध्यक्ष यादवको कथन छ । सिरहाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा एक हजार ५१४ जना बसिरहेका छन् ।
भारतबाट फर्किनेको सङ्ख्या दिनहुँ बढ्दै गएपछि जिल्लाको भगवानपुर, बरियारपट्टि, माड्र, औरही, लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकामा क्वारेन्टाइनमा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको छ । “सिरहामा पहिला २६५ क्वारेन्टाइन श्यया थियो”, सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले भन्नुभयो, “तर अहिले हामीले प्रमुख ६ स्थानमा क्वारेन्टाइन थप गरेका छौँ, जिल्लामा क्वारेन्टाइन श्यया ९०० पुर्याएका छौँ ।”
“प्रदेश नं २ सरकारले समेत जिल्लामा पहिलाको भन्दा ८० आइसोलेशन श्यया थप्ने निर्णय गरेको छ, हामीले पनि थप्ने तयारी गरिरहेका छौँ”, प्रजिअ गुरागाईले भन्नुभयो, “ सम्भवतः जिल्लामा आइसोलेशन श्यया १०० पुर्याउने छौँ, त्यसैले जिल्लामा क्वारेन्टाइन र आइसोलेशनको खासै समस्या छैन, किटकै बढी समस्या छ ।” किटको व्यवस्थापन जति छिटो हुन्छ, त्यति नै राम्रो हुन्छ उहाँको भनाइ छ । सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म दुई प्रहरी कर्मचारीसहित १४ जना पुगेको छ ।