अर्थ

कच्चा काठको बिक्री मूल्य पुनरवलोकन गरिने

सरकारले कच्चा काठको बिक्री मूल्य पुनरवलोकन गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कच्चा काठको बिक्री मूल्य पुनरवलोकन गरिने बताउनुभयो ।

“स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न विकास निर्माणका क्रममा सङ्कलित कच्चा काठको बिक्री मूल्य पुनरवलोकन गर्नेछौँ,” उहाँले भन्नुभयो, “वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौँ ।”

मन्त्री वाग्लेका अनुुसार दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवद्र्धन गरिने छ ।

वन पैदावारको कटानी, सङ्कलन, ढुवानी र बिक्री वितरणसम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउने उहाँको भनाइ छ ।

“सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौँ,” मन्त्री वाग्लेले भन्नुभयो, “वन, वातावरण, उद्योग, ऊर्जा र पूर्वाधारसम्बन्धी कानुन तथा नीतिबीचको असङ्गति हटाउनेछौँ । वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.