जन सरोकार

क्वारेन्टाइनमा बसेका ५६ वर्षीय परियारले गरे आत्महत्या

शनिबार भारतको राजधानी नयाँ दिल्लीबाट आएर क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । सुनौली नाकाबाट उद्धार गरी जिल्लाको आदर्श माविको क्वारेन्टाइनमा राखिएका गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् ।

आदर्श माविको क्वारेन्टाइनमा चन्द्रबहादुरसहित ३० जनालाई राखिएको थियो । छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । घाँटीमा उनको आफ्नै गलबन्दीको पासो थियो ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार चन्द्रबहादुरले दिल्लीमै पनि आत्महत्याको प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष पन्तका अनुसार परिवारका सदस्यहरुले भनेअनुसार उनले एक–डेढ महिना अगाडि दिल्लीमा पनि आत्महत्याको प्रयास गरेका र अप्रिय घटना होला भनेर दिल्लीमा रहेका उनका आफन्तले नेपाल पठाइदिएका थिए ।

चन्द्रबहादुरसहितका व्यक्तिहरुलाई छत्रकोट गाउँपालिकाले गाडीको व्यवस्था गरी सुनौली नाकाबाट शनिबार उद्धार गरेर ल्याएको थियो । चन्द्रबहादुर गाउँमा आउनासाथ परिवारका सदस्यहरुले क्वारेन्टाइनमा बस्दा आवश्यक पर्ने सामान के–के ल्याइदिनुपर्छ भनेर सोधेका थिए । तर, चन्द्रबहादुरले केही पनि सामान चाहिँदैन भनेको गाउँपालिका अध्यक्ष पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.