अर्थ

राष्ट्रियसभामा बजेट बहस : सत्तापक्षका सांसदबाट कार्यान्वयनमा जोड

सरकारले कोभिड–१९ को महामारीविरुद्ध लड्न स्वास्थ्य तथा आर्थिक पुनरुत्थानलगायत क्षेत्रलाई सम्बोधन हुने गरी ल्याएको बजेट समय सान्दर्भिक रहेको भन्दै सांसदहरुले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद कोमल वलीले कोभिडको महामारी नियन्त्रण, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीलगायत विषयलाई सम्बोधन गरेको हुँदा यसको कार्यान्वयन पक्षलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले बजेटमा हवाइ उद्योगमा सहुलियत, पर्यटन व्यवसायीलाई कर छुटजस्ता कार्यक्रम प्रसंशनीय छ भन्नुभयो ।

सोही पार्टीका सांसद परशुराम मेघी गुरुङले कोभिड–१९ लगायत सङ्क्रमणजन्य भाइरसको सामाना गरेर अघि बढ्नुपर्ने अहिलेको परिस्थितिमा बजेटको कार्यक्रम र प्राथमिकता सोहीअनुरुप आएको उल्लेख गर्नुभयो । कोभिडको परीक्षण दायरा बढाइ स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्य पूर्वाधार विकासलाई बजेटले प्राथमिकता दिएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

सोही पार्टीका रामनारायण बिडारी बजेट अहिलेको आवश्यकता र सान्दर्भिकतालाई सम्बोधन गर्नेगरी आएको हुँदा यसको प्रभावकारी कार्यान्वयनतर्फ सरोकारवाला सक्रियताका साथ लाग्नु जोड दिनुभयो । उहाँले बजेट विगतको भन्दा प्रगतिशील रहे पनि कृषि उत्पादन, रोजगारी सिर्जना, सीमा रक्षाका लागि बजेट अपुग भएको बताउनुभयो ।

सोही पार्टीका सांसद बेदुराम भुसालले कोरोना प्रभावितलाई राहत दिन बजेटले विशेष ध्यान दिएको, देशभित्रै रोजगारी प्रदान गर्ने, विदेशी श्रमिकलाई श्रम स्वीकृति लिने व्यवस्था, कृषि क्षेत्रमा लगानी वृद्धि गर्नेजस्ता कार्यक्रम बजेटले समेटेको तर्क गर्दै दोषी चश्मा लगाएर नहेर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । उहाँले एमसिसीको विषयमा सदनले अनुमोदन नगरेको सन्दर्भमा सो विषयलाई समेत बजेटमा राखिनु राम्रो नभएको भन्दै त्यसको सुधार जरुरी रहेको बताउनुभयो ।

सोही पार्टीका सांसद राधेश्याम पासवानले बजेटमा कोभिडको महामारीविरुद्ध जुध्न स्वास्थ्य क्षेत्रमा गरिएको व्यवस्था, विपन्न नागरिक तथा बालबालिकालाई स्वास्थ्योपचारका लागि गरिएको व्यवस्था सकारात्मक रहेको बताउनुभयो । नेकपाकै सांसद मायाप्रसाद शर्माले बजेटले कोभिडको सङ्क्रमणको सामाना गरी अर्थतन्त्रलाई सक्रिय बनाउन कृषि, पर्यटन, उद्योगलगायत विषयलाई सम्बोधन गरेको भन्दै बजेटको समर्थन गर्नुभयो ।

नेकपाका सांसद भगवती न्यौपानेले बजेट समसमायिक र विशेषगरी स्वास्थ्य क्षेत्रलाई समेटेर आएकाले पूर्णरूपमा समर्थन जनाउनुभयो । नेकपाकै सांसद बिना पोखरेलले कोभिडको महामारी नियन्त्रण गर्दै स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनाका विषय समेटिएको बजेट सकारात्मक रहेको बताउनुभयो ।

नेकपाका सांसद तुलसाकुमारी दाहालले कोभिडको महामारी नियन्त्रण तथा अर्थतन्त्रलाई चलायमान बनाउन राहत तथा पुनरुत्थानका कार्यक्रम समेटिएको बजेट प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । सोही पार्टीका सांसद डा विमला राई पौडेलले कोभिडको सङ्कट निवारण गर्दै आर्थिक गतिविधिलाई बढाउन बजेट संयमित ढङ्गले आएको बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले बजेट सुन्दा राम्रो भए पनि भित्रीपक्ष सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । प्रचारमुखी ठूला कार्यक्रम बजेटमा समावेश गरिएकाले कार्यान्यवमा समस्या हुने उहाँको भनाइ छ । नेकाँकै सांसद तारादेवी भट्टले बजेटले केन्द्रिकृत शासन प्रणालीको पक्षपोषण गरेको टिप्पणी गर्दै अहिलेको विषम परिस्थितिबाट देश र समाजालाई मुक्त गर्नेतर्फ पर्याप्त कार्यक्रम नआएको बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.