जन सरोकार

महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष

बाँकेको कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल हाले ‘ठेकी स्वादको मही’ लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।

परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहनुभएको छ । उहाँको यो प्रयासले स्थानीय उत्पादनलाई मात्र होइन, नेपाली मौलिक खानपान संस्कृतिलाई नयाँ पुस्तासम्म जोगाइराख्ने विश्वास गरिएको छ ।

सन्तोषले हाल मदानीले दही थेर पुरानो शैलीमा मही बनाउने गरेका छन् । काठको ठेकीमा दहीलाई मथेर पारेको महीको स्वादले पारखीहरु पल्कन थालेपछि उनको महीको व्यापार बढेको छ । त्यसैले उहाँले सञ्चालन गर्दै आउनुभएको ‘ए–वान डेरी उद्योग’ अहिले कोहलपुर क्षेत्रमा ठेकी महीका लागि परिचित बन्दै गएको छ ।

विगत एक दशकदेखि दुग्धजन्य पदार्थको व्यवसायमा सक्रिय पौडेलले सुरुमा सामान्य डेरी व्यवसायबाट यात्रा थाले पनि पछिल्ला वर्षमा मही उत्पादनमा विशेष ध्यान दिनुभएको छ ।

उहाँका अनुसार बजारमा मेसिनबाट तयार हुने मही सजिलै पाइए पनि आगोमा पकाइएको दूध र ठेकीमा मथिएको महीको स्वाद फरक हुने भएकाले उपभोक्ताले यसलाई रुचाउन थालेका छन् ।

उहाँको उद्योगमा अहिले दैनिक ४०० लिटर ठेकीबाट बनाइएको मही उत्पादन हुन्छ । यसबाहेक करिब डेढ सय लिटर खुला मही पनि बिक्री हुँदै आएको छ । पाँच सय मिली लिटरको बोतलमा ‘प्याक’ गरिएको मही स्थानीय बजारमा पुग्ने गरेको छ भने खुला मही उद्योगबाटै बिक्री हुन्छ ।

ठेकी मही बनाउने प्रक्रिया लामो छ । दाउराको चुलोमा मनतातो गरी दूध तताइन्छ । त्यसपछि मेसिनबाट क्रिम अलग गरिन्छ । पुनः सोही दूधलाई चुलोमा उमालिन्छ र आवश्यक तापक्रममा चिस्याएपछि दहीको जोडन हालेर निश्चित समय हिटिङ रुममा राखिन्छ ।

दही जमिसकेपछि आवश्यक मात्रामा ठेकीमा राखेर मदानीले मथिन्छ । यही प्रक्रियापछि तयार हुने महीमा आगोको स्वाद र काठको प्राकृतिक गन्ध मिसिने भएकाले यसको स्वाद फरक हुने पौडेलले बताउनुभयो ।

उहाँका अनुसार उपभोक्ता स्वादसँगै स्वास्थ्यप्रति सचेत बन्दै गएका छन् । महीले पाचन प्रणाली सुधार गर्ने, शरीरलाई चिस्यान दिने, एसिडिटी कम गर्ने, थकान हटाउने, क्याल्सियम उपलब्ध गराउने तथा रक्तचाप नियन्त्रणमा सहयोग पु¥याउने विश्वासले पनि यसको माग बढिरहेको उहाँ बताउनुहुन्छ ।

“राजनीतिमा सेवा भावले लागेँ । तर, जीवन धान्न नसकेपछि अहिले व्यवसायमै बढी समय दिइरहेको छु,” पौडेलले भन्नुभयो ।

पौडेलको व्यवसायमा परिवारका सदस्यसहित अन्य चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योग सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार तथा कोहलपुर नगरपालिकाबाट केही मेसिनरी सामग्री उहाँले प्राप्त गर्नुभएको छ ।

नगरपालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा अटोमार्फत मही बजारसम्म पुर्याउन पौडेललाई सजिलो भएको छ ।

स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य बोकेका पौडेलले स्वच्छ पिउने पानी उत्पादनका लागि आवश्यक फिल्टर प्रणालीमा अनुदान वा सहुलियत उपलब्ध भए उत्पादन विस्तार र ब्रान्डिङ अझ प्रभावकारी बन्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.