सभामुखद्वारा सांसदहरूमाथि छानबिन गर्न समिति गठन
प्रतिनिधिसभामा आइतबार अमर्यादित गतिविधि भएको भन्दै छानबिनका लागि सभामुख डोलप्रसाद अर्यालले समिति गठन गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति समिति गठन भएको सभामुख अर्यालले जानकारी दिनुभयो ।
सभामुख अर्यालले प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम समिति बनाएको र ७ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको बताउनुभयो ।
‘१७ गतेको बैठकमा केही माननीय सदस्यहरू अव्यवस्था सृजना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन, भौतिक हानी एवं क्षति पुर्याउने कार्य गरेको ब्यहोरा सभामुखलाई बैठकपछि जानकारीमा आयो । आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी ७ दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेस गर्नेगरी प्रतिनिधि सभा सचिव प्रकाश अधिकारी संयोजकको समिति बनाएको छु,’ सभामुख अर्यालले बैठकमा भन्नुभयो ।
त्यस्तै सभामुख अर्यालले प्रतिवेदन प्राप्त भएपछि ३३ को उपनियम ४ बमोजिम कारबाही अगाडि बढाउने जानकारी पनि गराउनुभयो । आइतबार प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित गर्न खोजेपछि संसद्मा घम्साघम्सी भएको थियो ।
प्रतिपक्षले सोमबार पनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते मंगलबार १ बजे बस्नेछ ।




प्रतिक्रिया राख्नुहोस्