जन सरोकार

ठगीमा सघाएको आरोपमा अध्यागमन सुरक्षामा खटिएका १५ प्रहरीमाथि अनुसन्धान

अध्यागमन विभाग

अध्यागमन विभाग

ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्यागमन विभागले सुरक्षामा खटिएका १५ जना प्रहरीमाथि अनुसन्धान थालेको छ । उनीहरुमाथि विभागको हिरासतमा रहेका नाइजेरियाका नागरिक जेम्स एडी जेबीलाई फोन उपलब्ध गराएर ठगी कार्यका लागि सहयोग गरेको आरोप रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानमा सुरक्षामा खटिएका प्रहरीले सघाएको पाइएपछि विभागको सुरक्षामा रहेका सबै प्रहरीलाई नेपाल प्रहरीको दुई नम्बर गणमा राखेर अनुसन्धान थालिएको उहाँले बताउनुभयो । घटनामा संलग्न देखिएको भन्दै सिआइबीले कारवाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको थियो । सोही पत्रको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

अधयागमन विभागको सुरक्षामा अर्को टोली पठाइएको छ । एक हप्ताअघि नाइजेरियाका नागरिक जेबीले हिरासतबाटै अनलाइनमार्फत साथी बनाएर ठगी धन्दा चलाएको सिआइबीमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उनले ह्वाट्स् एपको प्रयोग गरी साथी बनाएर विभिन्न लोभ देखाई पैसा माग्ने गरेको खुल्न आएको छ ।

आफू अमेरिकी सैनिक भएको र सिरियाको मिसनका बेला अपरेशन गर्दा ९० लाख डलर भेटिएकाले अमेरिका पठाउने अवस्था नभएको उल्लेख गरी नेपाल पठाउन लागेको भन्दै पैसा माग्ने गरेका थिए ।

त्यसरी नेपालमा पठाएको पैसा लिन कूटनीतिक पासपोर्ट भएका आफ्ना सहयोगी नेपाल आउन लागेका बेला दुबईमा अड्किएकाले उसलाई निकाल्नका लागि पैसा चाहियो भनेर एक हजार २५ डलर मागेको पाइएको सिआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनी नेपालमा लागुऔषध मुद्दामा छ वर्ष जेल सजाय पाएर छुटेका व्यक्ति हुन् । प्रवेषाज्ञा सकिएकाले उनलाई डिपोर्ट गरेर चैत १० गते नै पठाउन लागिएको थियो तर अन्तर्राष्ट्रिय उडान रोकिएपछि उनी अध्यागमन विभागको हिरासतमा रहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.