राजनीति

मन्त्री मेहताद्वारा स्वास्थ्य बिमाका विषयमा अस्पतालका प्रमुखसँग छलफल

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा देखिएका समस्या समाधान गर्नका लागि छलफल गर्नुभएको छ । मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्ड र उपत्यकाका सरकारी अस्पतालका प्रमुखसँग बुधबार मन्त्रालयमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा विद्यमान असहजता र सुधारका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रम गरिबी जनताको स्वास्थ्यसँग जोडिएकाले सुधार गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बिमा बन्द गरिएका अस्पतलाका स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

“स्वास्थ्य बिमा कार्यक्रम जनताको कार्यक्रम हो । यसलाई अस्पतालले नियमित गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाको विकल्प छैन । त्यसैले बन्द गरिएका अस्पतालले चाडै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुहोस् ।”

मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचार सुविधा थैलीमा गरेको परिवर्तनका सम्बन्धमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । केही दिन अघि मात्र बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैलीको दररेट परिमार्जन गरेको थियो ।

छलफलमा स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वास्थ्य बिमा सहज बनाउने मन्त्रालयले नीतिगत छलफल गरिरहेको बताउनुयो । उहाँले हालै गरिएको सुविधा थैलीको दररेटका सम्बन्धमा केकसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक सकुन्तला प्रजापतिले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ मा कुनकुन परीक्षणको दररेट कम भएका छन् र ती दररेटका सम्बन्धमा अस्पतालसँग छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभयो । छलफलमा अस्पताल प्रमुखहरूले हालै बोर्ड परिमार्जन गरेको सुविधा थैली परिमार्जन गर्नुपर्ने माग राख्नुभएको थियो ।

उहाँहरूले स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम लामो समयदेखि बक्यौता रहँदा सेवा सञ्चालनमै समस्या भएको बताउनुभएको थियो । छलफलमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल लगायत प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.