संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र केन्द्रीकृत शासन व्यवस्थाको पक्षमा लामो समयदेखि वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर आन्तरिक संकटमा फसेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाबीच बढ्दै गएको राजनीतिक तथा संगठनात्मक मतभेदले अन्ततः पार्टी विभाजनको अवस्था सिर्जना गरेको छ।
महामन्त्री पदबाट बाहिरिएपछि डा. धवलशमशेर राणानिकट केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले बिहीबार सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
यस घटनाले राप्रपाभित्र लामो समयदेखि चुलिँदै आएको असन्तुष्टि सार्वजनिक रूपमा विस्फोट भएको संकेत गरेको छ। पार्टी परित्याग गर्नेहरूमा शीर्ष तहका नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन्।
त्यस्तै केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला तहका पदाधिकारीहरू पनि सामूहिक राजीनामामा सहभागी भएका छन्।
पार्टी परित्याग गर्ने समूहले जारी गरेको विज्ञप्तिमा यो केवल पहिलो चरणको कदम भएको उल्लेख गर्दै आगामी दिनमा थप नेता तथा कार्यकर्ताले पनि पार्टी छाड्न सक्ने संकेत दिएको छ।
उनीहरूले पार्टीको वर्तमान नेतृत्वमाथि हिनताबोध, आत्मकेन्द्रित कार्यशैली तथा संगठनलाई व्यक्तिगत स्वार्थअनुसार सञ्चालन गरेको आरोप लगाएका छन्।
राजीनामा दिने नेताहरूले राप्रपाले आफ्नो मूल राजनीतिक सिद्धान्त र उद्देश्यबाट विचलित भएको दाबी गरेका छन्। जनताकेन्द्रित राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन नभएको उनीहरूको आरोप छ।
उनीहरूले पार्टीको मूल नेतृत्वले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ सम्बन्धी न्यूनतम साझा कार्यक्रममा सहभागी बनेको विषयलाई पनि गम्भीर राजनीतिक विचलनका रूपमा चित्रण गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “विचार, व्यवहार र नेतृत्व शैलीबीचको विरोधाभासका कारण पार्टी जनताबाट क्रमशः दण्डित हुँदै गएको छ। भनाइ र गराइबीचको असन्तुलनले संगठनको विश्वसनीयतामा गम्भीर क्षति पुगेको छ।”
पार्टीभित्र जवाफदेहिता र संस्थागत पद्धति स्थापित गर्ने प्रयास गर्दा नेतृत्वले असहमत पक्षमाथि निरंकुश शैलीमा कारबाही गरेको आरोप पनि असन्तुष्ट समूहले लगाएको छ। उनीहरूका अनुसार पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र निर्णय प्रक्रिया सीमित व्यक्तिहरूमा केन्द्रित भएको छ।
राजसंस्था पुनर्स्थापनाको एजेन्डामा समेत नेतृत्व गम्भीर नभएको आरोप लगाउँदै विज्ञप्तिमा उल्लेख गरिएको छ, “राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटक–पटक तुहाउन मूल नेतृत्व नै अग्रसर भयो, तर संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै प्रस्तावसमेत दर्ता गरिएन।”
राजीनामा दिने समूहले राप्रपाको स्थापना जुन वैचारिक आधार, उद्देश्य र राजनीतिक लक्ष्यका साथ भएको थियो, वर्तमान नेतृत्वले त्यसलाई क्रमशः कमजोर बनाउँदै लगेको निष्कर्ष निकालेको छ। उनीहरूका अनुसार पार्टीको मूल पहिचान नै संकटमा परेपछि संगठनभित्र रहेर सुधार सम्भव नभएको निष्कर्षसहित पार्टी परित्यागको निर्णय गरिएको हो।
यस घटनाले राप्रपाभित्रको शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ। राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई केन्द्रमा राखेर राजनीति गर्दै आएको राप्रपाका लागि शीर्ष तहका नेताहरूको सामूहिक बहिर्गमनले संगठनात्मक तथा राजनीतिक रूपमा गम्भीर चुनौती थपिएको छ।
आगामी दिनमा असन्तुष्ट पक्षले नयाँ राजनीतिक मोर्चा निर्माण गर्ने वा राप्रपाभित्रै अर्को समूहगत संरचना विकास गर्ने भन्ने विषय भने खुल्न बाँकी छ।




प्रतिक्रिया राख्नुहोस्