एकैदिन ९१ जना थप कोरोना संक्रमित भेटिएपछि दैलेखमा निषेधज्ञा जारी
शुक्रबार दैलेख जिल्लामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुकाखोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्म जारी गरिएकोे जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिम मानिएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत तथा अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रबाहेक सम्पूर्ण कार्य बन्द गरिने जनाइएको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । साथै सङ्क्रमणबाट जोगिन, भीडभाड नगर्न/नगराउन, जमघटन नहुन सबैलाई प्रशासनले आग्रह गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।
जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाका एक÷एक जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै शुक्रबार कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमित भेटिएका हुन् ।
प्रतिक्रिया राख्नुहोस्