राजनीति

कोरोना कहर : स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने अवसर

कास्की क्षेत्र नं .२ की संघीय संसद सदस्य विद्या भट्टराईले कोरोना संक्रमण कहरका रुपमा उपस्थित भए पनि यसले देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने अवसर दिएको बताउनुभएको छ ।

शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले सुरु गरेको विद्यार्थीसँग शिक्षक संगठन भन्ने उदघोषका साथ राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको भर्चुअल उद्घाटन गर्दै सांसद भट्टराइले विकासोन्मुख राष्ट्रले हरेक विपत्तिलाई अवसरको सम्भावनामा रुपान्तरण गर्नुपर्ने भन्दै सो कुरा बताउनुभएको हो ।

भट्टराईले भौतिक विकास मात्र समृद्धि र विकासको आधार नभएकाले समता, समानतामूलक समाज निर्मांणमा जोड दिनुभएका भट्टराईले समाजबाट विभेदकारी नीति जस्तै जातीय, धार्मिक, लैङ्गिक विभेदलाई व्यवहारिक रुपमा नै हटाउन जरुरी भएको बताउनुभयो ।

उहाँले कारोनाका कारण नेपाल मात्र नभई विश्व अर्थतन्त्र नै डामाडोल भएकाले अब आर्थिक रुपमा आत्मनिर्भर हुने चुनौति थपिएकाले यस समस्याबाट मुक्त हुन राज्य नै लाग्नुपर्ने बताउनुभयो । कोरोनालाई जित्नका लागि हरेक नेपालीले आफूले सक्ने ठाउँबाट सहयोग गर्न पनि उहाले आग्रह गर्नुभयो ।

उहाँले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन उत्प्रेरित गरेकोमा शिक्षक संगठनलाई बधाई र सफलताको शुभकामना दिनुभयो ।

त्यस्तै कार्यक्रमको समीक्षा गर्दै नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रिय समितिका अध्यक्ष प्रा.डा. यादवप्रकाश लामिछानेले वर्तमान समस्याका वावजुद पनि विद्यार्थीहरुको सहभागिता र विषयवस्तुप्रतिको गाम्भीर्यता, गहिराइ, प्रस्तुति अन्यन्त प्रसंशायोग्य भएको बताउनुभयो । नेटवर्कको कारणले कुनै विद्यार्थीको प्रस्तुतिमा हाउभाउको समस्या देखिएकाले यसमा निर्णायक मण्डलले यसमा स्वविवेक प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल शिक्षक महासंघ कास्की तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले अबको युग भनेको सूचना र प्रविधिको युग भएकाले कोरोनाले हामी शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिमा जोडिन सिकाएको बताउनुभयो । यो प्रतियोगिता पनि यसै कोरोनाको कारण सम्भव भएको र समयको मागलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले महत्तपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई मध्यनजर गर्दै संगठनले पहिलो चरणको अनलाइनमार्फत नै शिक्षक तालिम र दोस्रो चरण अन्र्तगत वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनुभयो । विद्यार्थीको सक्रिय सहभागिता सँगै कार्यक्रममा बालप्रतिभालाई जोड दिँदै भोलिको लागि अब कहाँ आउँछ बालापनको उमेर गीतका बालगायिका समीक्षा अधिकारी र भारतीय टिभी रियालिटी शो लिटल च्याम्सका टप फोर आयुष केसीको प्रस्तुती रहने जानकारी दिनुभयो ।

वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थीहरु सहभागी भएका छन् । विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्राडा यदुनन्दन उपाध्याय, सह प्राडा पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहनुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले ७ जनालाई र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा संयोजक तीर्थराज ढकालले जानकारी दिनुभयो ।

कार्यक्रमको मिडिया पार्टनर रेडियो अन्नपूर्ण पोखरा, सहआयोजक तथा सोसल मिडिया पार्टनर कुल्याब्स् डट कम र विशेष सहयोगी पोखरा महानगरपालिका रहेका छन् । कार्यक्रमको सञ्चालन संयोजक तिर्थराज ढकाल र प्रविधि संयोजक दामोदर तिमिल्सिनाले गर्नुभएको थियो भने संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

सम्बन्धित खबर

Back to top button