प्रबास

तमुः समाज बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख सहयोग

रवी लामिछाने र राधा पौडेलको फाउण्डेशनलाई तीन तीन लाख

बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोना पीडितका लागि कार्य सघाउँदै आएको विभिन्न तीन संस्थालाई रु ११ लाख २५ हजार सहयोग गरेको छ ।

समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आउनुभएकी राधा पौडेलको फाउण्डेशनलाई रु तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिनुभयो ।

तमुः समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो । जसको प्रचार–प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । बेलायतमा कोरोना देखिएपछि समाजले यहाँको सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पिपिइसमेत सहयोग गरेको थियो । त्यस्तै बेलायतमा रहेका नेपाली वृद्धवृद्धालाई पिपिइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो ।

समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ । यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो । नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौँ र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गरेको र पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै रु ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।

लुम्बिनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बेलायतको लण्डन शहरको वाटफोर्ड जनरल अस्पतालका नेपाली चिकित्सकको अग्रसरतामा ४० थान अक्सिजन कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठाइएको छ । वाटफोर्ड अस्पतालमा कन्सलट्यान्ट फिजिसियनका रूपमा कार्यरत डा मोहन थापाले संयोजनकारी भूमिका गरी थालनी गरेको सहयोग अभियानमा सोही अस्पतालमा कार्यरत भारतीयमूलका अन्य चिकित्सकहरूले आफ्नो संस्था बिएपीआइओबाट सहयोगमा गरेका थिए ।

यसरी सङ्कलन गरिएको कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनाललाई बिहीबार हस्तान्तरण गरिएको डा थापाले जानकारी दिनुभयो । बेलायतस्थित कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज युकेका अध्यक्ष प्रा सत्येन राजभण्डारी तथा नेप्लिज डक्टर्स एशोसिएशन युकेले पनि ती उपकरण नेपाल पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए । त्यस्तै स्थानीयस्तरमा डायबिटिज नेपाल नामक संस्थाले सघाएको थापाले जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताललाई हालसम्म पाएको सहयोगको सबैभन्दा बढी मात्रमा यसपटक सहयोग पाएको र कोभिडसँग लडिरहेका बिरामीका लागि अक्सिजन कन्सन्ट्रेटर निकै उपयोगी हुने बताउँदै सबै सहयोगीलाई डा खनालले धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.