भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने चौथो मुलुक एकैदिन थपिए ११ हजार

भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । भारत विश्वमा अत्यधिक कोरोना भाइरस संक्रमित हुने मुलुकहरुमा चौथो स्थानमा उक्लेको छ ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ५३५ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ४९८ पुगेको छ ।
भारतमा अहिले पनि १ लाख ४१ हजार ८४२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमण मुक्त भएकाहरुको संख्या १ लाख ४७ हजार १९५ रहेको मन्त्रालयले जनाएको छ ।
कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै शुक्रबारसम्म ९७ हजार ६४८ जना संक्रमित भएका छन् । दोस्रो स्थानमा तमिलनाडु प्रदेश रहेको छ । यहाँ ३८ हजार ७१६ जना सङ्क्रमित रहेका छन् । यसैगरी दिल्ली राज्यमा ३४ हजार ६८७ जना संक्रमित रहेका छन् ।
गुजरातमा २२ हजार ३२ संक्रमित भेटिँदा एक हजार ३८५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, उत्तर प्रदेशमा अहिलेसम्म १२ हजार ८८ संक्रमित फेला परेका छन् भने ३४५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा नौ हजार ७६८ संक्रमित भेटिएका छन् भने ४४२ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ९८३ संक्रमित फेला परेका छन् भने ३६ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ४७ हजार १९५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।