विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो कुल पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्न आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पुनले विज्ञान, अनुसन्धान र नवप्रवर्तनका लागि दिगो स्रोत सुनिश्चित गर्न यस्तो बजेट व्यवस्था आवश्यक रहेको बताउनुभएको हो । उहाँले सबै तहका सरकारलाई आफ्नो बजेट निर्माण प्रक्रियामै विज्ञान तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्न आह्वान गर्नुभएको छ ।
“देशलाई समृद्ध बनाउन नगरी नहुने महत्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्ने छ,” उहाँले भन्नुभएको छ, “देशको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई सिकाउन निरन्तर लागिरहनेछु।”
नवगठित विज्ञान तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञ नेतृत्वमा प्रभावकारी बनाउनुपर्ने बहस चलिरहेका बेला मन्त्री पुनको यो आग्रहलाई नीति कार्यान्वयनतर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ ।
सम्बन्धित क्षेत्रका विज्ञको प्रत्यक्ष संलग्नतामा मन्त्रालयका कार्यक्रम अघि बढ्ने अपेक्षा पनि गरिएको छ । नवगठित मन्त्रालयले युवा प्रतिभाहरुलाई आकर्षित गरी स्वदेशमै अनुसन्धानमा सक्रिय गराउन सक्षम हुने विश्वास पनि लिइएको छ ।




प्रतिक्रिया राख्नुहोस्