संसद सार्वभौम छ, मन नपरे सरकार फाल्ने अधिकार पनि यहीँ छ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद सार्वभौम संस्था भएकाले मन्त्री मात्र होइन, आवश्यक परे प्रधानमन्त्री वा सम्पूर्ण सरकार नै परिवर्तन गर्ने अधिकार संसद्सँग रहने स्पष्ट गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो धारणा राख्नुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले बजेट कार्यान्वयनको क्रममा कार्यपालिकालाई अत्यधिक अधिकार प्रत्यायोजन गरिएको विषयमा प्रश्न उठाएपछि उहाँले जवाफ दिनुभएको थियो ।
अर्थमन्त्री वाग्लेले वेस्टमिन्स्टर प्रणालीको अभ्यास उल्लेख गर्दै भन्नुभयो, “यो प्रणालीमा व्यवस्थापिकाले नै कार्यपालिकालाई पूर्ण म्यान्डेट दिन्छ ।”
उहाँले थप भन्नुभयो, “कार्यपालिका वा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही संसद् हो, त्यसैले यो सार्वभौम संस्था हो । मन नपरेको खण्डमा सरकारै फाल्नसक्ने अधिकार पनि यही थलोले राख्छ ।”




प्रतिक्रिया राख्नुहोस्