जल/वातावरण

मेलम्ची बाढी-पहिरो : सातजनाको मृत्यु, खोजी तथा उद्धारको तयारी

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिनुभएको छ ।

उहाँले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिंदै यो भन्दा थप मानवीय क्षतिको विवरण नआएको बताउनुभयो ।

बाढी–पहिरोले व्यापक भौतिक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

यसैबीच सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ ।उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर परिचालन गरिएको छ । खोज तथा उद्धारमा सेनाको विशेष तालिमप्राप्त टोली खटाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.