जन सरोकार

मेलम्ची बजारमा इन्द्रावतीको वितण्डा : बाढीमा वेपत्ता हुनेहरुको पहिचान खुल्यो

मंगलबार साँझ सिन्धुपाल्चोकको मेलम्ची बजारमा इन्द्रावती नदी पसेर वितण्डा मच्चायो । सो बाढीका कारण सातजना हराइरहेका छन् भने भौतिक क्षतिको विवरण आउन सकेको छैन ।

यसैबीच बाढीले बगाएर सम्पर्कविही भएका सात जनाको पहिचान खुल्योको छ । इन्द्रावती नदीमा आएको बाढीले बगाएर सम्पर्कविहीन भएका सात जनाको पहिचान खुलेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।

सम्पर्कविहीन हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी र वर्ष ४२ का गणेश ज्योती, हेलम्बु–३ का ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति हेलम्बु–६ का ५० वर्षीय च्याङ्बा तामाङ र वर्ष तथा नाम खुल्न नसकेको च्याङ्बा तामाङको श्रीमती र साँगाचोकगढी–६ का वर्ष २३ को सुरेन्द्र नेपाल रहेका छन् ।

मेलम्ची नदीमा मंगलबार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्याएको छ । पछिल्लो समयमा हेलम्बु र मेलम्ची पानी सहत बढेको भन्दै मानिसहरुलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको उहाँले बताउनुभयो ।

बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ ।

मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् । मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।

अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् ।

खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ । स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button