जन सरोकार

अरुबाट दलित कि आफैंभित्र दलित ?

एक वर्ष अगाडि दलित भनेर राजनीति गर्नुको साटो उनीहरुमा रहेको सीप, कला र क्षमतालाई उद्यमशीलतामा परिवर्तन गरी उद्योगी बनाउन किन नसक्ने भन्ने प्रश्नसहित लेख लेखेको थिए । त्यो लेखलाई आफूलाई दलित अगुवा भन्ने मेरा साथीहरुले नै अस्वीकार गरे । दलितमाथि राजनीति त गर्नैपर्छ समेत भने । मैले उनीहरुसंग बहस गर्न चाहिन केवल आफ्नो धारणा मात्रै सार्वजनिक गरे ।

अहिले रुपा सुनारको काण्डले संचारमाध्यम रंगिएको छ । जातीय, छुवाछुत, भेदभावका गगनभेदी नारा घन्काएर बारबाहीको माग भैरहेको छ । सामाजिक संजालहरुमा समर्थन र बिरोध पनि भैरहेका छन् । यो दुबै पाटो मेरो व्यक्तिगत हिसाबमा गलत हो । सत्य र यथार्थ बाहिर आउनुपर्छ ।

जेहोस्, पुनः भन्छु दलित भनेका सिल्पी हुन्, उनीहरुको सीपको उपयोग राज्यले गरेर उद्योगी बनाउनुपर्छ र उनीहरुमा रहेको कालिगडीको देशले उपयोग गर्नुपर्छ, सम्मानजनक जीवन बिताउने आधार सरकारले बनाउनुपर्छ । न कि सरकार चलाउने पार्टीहरु नै दलितका नाममा भातृ संगठन खोलेर राजनीति गरिरहने । चुनावमा तिनै दलितलाई मासु र रक्सी खुवाएर भोट बटुल्ने, उनीहरुकै हकहितका लागि भनेर अनेक नारा घन्काउने, समाजमा विभेद खडा गर्ने तर उनीहरुको हितमा सिन्को नभाँच्ने ? यस्तो राजनीतिको शिकार गाउँघरका सोझासिधा मात्र हैनन्, पढेलेखेका समेत रहेछन् । यो दुर्भाग्य हो ।

एक वर्षअघि दलितका विषयमा यस्तो लेखिएको थियो- जातीय विशेषता र पेशागत खुबी अनि सीपका आधारमा विभाजित गरिएको वर्गलाई जातीय जामा पहिराएर राजनीति गर्नुको साटो उनीहरुको सीपलाई उद्यमशीलतामा बदलेका भए आज जातकै आधारमा कसैले ज्यान गुमाउनुपर्ने थिएन ।

मूर्ति बनाउने विश्वकर्मा जन्मजात इञ्जिनिर हुन्, उनीहरुले संसारको कुनै पनि विश्वविद्यालयबाट डिग्री हाँसिल गरेका छैनन् तर मुर्ती बनाउँछन्, हतियार बनाउँछन् । उनीहरु श्रेष्ठ जाति हुनुपर्नेमा दलित बनाएर राजनीतिको औजार बनाइएको छ अनि छुवाछुतको रंग दलेर समाज विकासको धार बदल्ने प्रयास भैरहेको छ ।

नेपालमा जति पनि दलित भनिने जाति छन् उनीहरु कला, कौशल र सीपले निपूर्ण कुशल कर्मी हुन्, तर उनीहरुको त्यो सीपलाई कहिल्यै उत्थान गरिएन र उनीहरुलाई राजनीति ऊर्जाको स्रोत मानेर भड्काउने काम मात्र गरियो । भेदभावहित समाज भन्दै जातीय विभेदको खाडल खन्नुको साटो उनीहरुमाा रहेको वंशाणुगत क्षमतालाई देशको आर्थिक विकासमा उपयोग गर्न सकेको भए आज देशको स्थिति अर्कै हुन्थ्यो ।

आज विश्वमा आधुनिकता र समानता अनि विभेदरहित समाजको नाममा राजनीतिक हिलो छ्यापेर वंशाणुगत पेशाबाट ती शिल्पीहरुलाई विमुख गरिएको छ । जसले गर्दा नेपालको अर्थव्यवस्था उल्टो दिशातिर उन्मुख छ । वैदेशिक रोजगारीले साना–साना कुराहरु आयात गरेर मुलुक धानिएका बेला जातीय विभेदको नाराले वंशाणुगत पेशा लोप हुने अवस्थामा पुगेको छ ।

वंशाणुगत गुण र सीप पेशा अनि व्यवसायलाई व्यावसायिक बनाउँदै उनीहरुलाई सम्मानजनक स्थान दिनुको साटो ‘दलित’ भनेर उनीहरुको सीप र क्षमतालाई वेवास्ता गर्दै आरक्षण र अनुदानमा बाँच्न विवश पारिंदा त्यो अपार सीप र क्षमता राज्यको रुपान्तरणमा प्रयोग नै हुन सकेन ।

अहिले समय बदलिंदैछ । कतिपय युवाहरु पुख्र्यौली पेशामा आकर्षित हुन थालेका छन् । आफूले रगतमै बोकेर आएको सीप त्यागेर विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै गाउँघरमा काम गरे विदेशकोभन्दा राम्रो कमाई हुन्छ भन्ने पनि चेतना जागृत हुँदैछ । तर, सरकारले अहिलेसम्म वंशाणुगत पेशाको प्रबद्र्धन गर्न चासो दिएको छैन ।

आज सानासाना औजारहरु विदेशबाट ल्याइन्छन् । हाम्रा गाउँघरमा आरनमा काम गर्नेहरुको पेशाको संरक्षण खोई ? तयारी पोशाक उद्योगमा भारत र बंगलादेशबाट कामदार ल्याइन्छन्, परम्परागत रुपमा लुगा सिलाउने काम गर्दैआएका ‘दमाई’हरुलाई रोजगारी खै ? उनीहरुलाई पेशाबाट विमुख गरिएको छ विदेशीको स्वार्थका कारण । दमाईलाई तिमीहरु लुगा मात्र सिउने हो र भन्दै भड्काइदिएका छन् कथित डलरे अभियानकारीहरुले ?

आज माटाका भाँडाहरु विदेशबाट आउँछन्, हाम्रा कुमालेहरुलाई सेरामिक्स उद्योगका मालिक बनाउन किन सकिन्न ? के उनीहरु सधैं सामान्य भाँडाकुडामै चित्त बुझाएर बस्नुपर्ने हो ? खै यस्ता कुरातिर राज्यको दृष्टि र नीति ? परिणाम आफ्नो पेशा छाडेर अन्तै भौतारिन्छन्, धर्म–संस्कति समेत बदलेर । यसलाई जातीय नारा दिइयो, अधिकारको जामा लगाइयो अनि समाज भाँड्ने काम भयो ।

वास्तवमा वंशाणुगत संस्कार, पेशा नेपालको मौलिक शिक्षा थियो र अझै कताकती छ । यस्ता परस्परका एक प्रकारका अलौकिक विशेषता यो भूखण्डका जातीय विशेषता थियो तर तिनको समुचित संरक्षण, सम्वद्र्धन र समयानुकुल विकासतिर ध्यान दिइएन । त्रिशुली नदीमा बस डुब्दा विदेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता किन आइपर्यो, भन्दा वंशाणुगत सीप र पेशाको प्रबद्र्धन नभएर हो । जसले गदौ गोताखोरी, पौडीवाज र जलक्रिडाका विषयमा विशेषता हासिल गरेर कीर्तिमान कायम गर्नसक्ने बोटेहरू किं कर्तव्य विमुढको स्थितिमा पुगे ।

त्यस्तै व्यक्तित्व निर्माणमा अतुलनीय योगदान दिने र सुसभ्य, सुसंस्कृत र सौन्दर्यका साथै इज्जतको प्रतीक शिरदेखि पाउसम्मको आकर्षण थरिथरिका पोशाक तयार गर्ने कुशल दमाइहरू किन साउदी र कतार जान मात्रै उत्सुक भए । किन उनीहरु तयारी पोशाक निर्यातक किन बन्न सकेनन् ? सार्कीहरूले ठूलठूला छाला जुत्ता कारखाना खोलेर उद्योगपतिको स्थान किन लिन पाएनन् ? किनभने उनीहरुलाई उठाउनेभन्दा राजनीतिक दाउपेचको शिकार बनाएर विदेशीको इशारामा आफ्नो स्वार्थपूर्ति गर्नतिर सबै लागे ।

अहिले दलित भनिने यी जात विशेषमा वंशाणुगत गुण र सीप, श्रम तथा अन्य मानवीय प्रतिभाको दृष्टिमा उच्चकोटीका छन् । यिनीहरूमा केही कमी थिएन, कलाका धनी थिए । सीप र जाँगर तथा स्वाभिमानी र स्वावलम्बी थिए । तर नेपालको बहुआयामिक यस्तो विशेषतामा पश्चिमा रणनीतिको ग्रहण लाग्यो । उनीहरूको जीवनशैली तथा संस्कार र संस्कृतिमाथि अतिक्रमण हुनाका साथै उनीहरूका जीवनधारका सवै क्षेत्र र साधन खोसियो ।

वंशाणुगत पेशा अपनाउनेलाई सहुलियत र पुरस्कृत गर्ने नीति सरकारले लिनेन हो भने अझै केही बिग्रिसकेको छैन । यी सीप र क्षमताका धनी जातिलाई सरकारले संरक्षण गरेर अघि बढाउने हो भने नेपालको गरीबी केही वर्षमै ह्वात्तै घट्छ । विश्व बैंक वा मुद्राकोषको तथ्यांक देखाउनै पर्दैन, जनताको घरघरमा समृद्धिको उज्यालो पुगिसकेको हुनेछ ।

माथी नै उल्लेख गरियो कि जातीय सीपलाई औद्योगिक रुप दिने हो भने नेपाली समाजमा सबभन्दा श्रेष्ठ जाति नै यिनीहरु हुनेछन् । के राजनीतिक दल, सरकार, अधिकारकर्मी यो काम गर्न अग्रसर हुन्छन् ? भेदभावको अन्त्य नाराको विषय हैन, कर्मले मानिस जहिल्यै श्रेष्ठ बन्छ, जो कर्मले जहिल्यै श्रेष्ठ छन् उनीहरुलाई कथित दलित भनेर भेदभावको शिकार बनाएर राजनीति गर्ने क्रमभंग गरौं उनीहरुको सीपलाई प्रयोग गरौं ।

दलित भनेर राजनीति गर्नुको साटो पुख्र्यौली सीपलाई उद्योगमा बदलेको भए…

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button