जन सरोकार

क्वारेन्टिनमा जन्मियो शिशु, दमका रोगीले जिते कोरोना

प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माउनुभएको हो ।

क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान करीब ८ बजे उहाँ सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो । खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बस्नुभएको थियो ।

यसै गरी लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित दाङका एक ७० वर्षीयले कोरोना जित्नुभएको छ । बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्कनुभएको हो ।

गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टिनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उहाँसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । नतिजा पोजेटिभ आएपछि उहाँ कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना हुनुभएको थियो ।

“कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.