जन सरोकार

शिक्षकलाई पारियो रहस्यमय तरिकाले वेपत्ता

आइतबारदेखि वेपत्ता- खोजी गरी दोषीलाईलाई कारबाही गर्न माग

आइतबारदेखि रहस्यमयरूपमा बेपत्ता बनाइएका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाही गर्न विभिन्न सङ्घ, सङ्गठनले माग गरेका छन् ।

बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ । विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

म्याग्दीस्थित नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधिहरुले प्रशासनमा पुगेर ध्यानाकर्षण गराउनुभएको थियो । बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्नि सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।

यसैगरी म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा, सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठ र पुलत्स्य साहित्य समाजका अध्यक्ष कृष्णबहादुर बानियाले मङ्गलबार नै संयुक्त विज्ञप्ति जारी गर्दै बेपत्ता कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।

पौलस्त्य साहित्य समाज, म्याग्दीका संस्थापक अध्यक्ष÷संरक्षक, म्याग्दी साहित्य समाजका सल्लाहकार कार्की जनसाहित्य मञ्च नेपालका केन्द्रिय सदस्य हुनुहुन्छ । मञ्चका अध्यक्ष राम विनयले पनि मङ्गलबार एक विज्ञप्ति जारी गरेर बेपत्ताको खोजीको माग गर्नुभएको छ ।

कार्कीलाई बेपत्ता बनाएको अभियोगमा प्रहरीले बेनी नगरपालिका–५ चुत्रेनीका एक युवालाई कुश्माबाट पक्राउ गरेको छ । विद्यालयमा कार्यरत अन्य दुई कर्मचारीसँग पनि प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । पक्राउ परेका कसैको पनि नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

आइतबार बगुवाखोलामै देखिए पनि पक्राउ परेका व्यक्ति घटनापछि हिँडेरै कुश्मा पुगेका बताइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले अनुसन्धानकै क्रममा रहेकाले हत्या अथवा बेपत्ता भन्ने खुलिनसकेको बताउनुभयो ।

“घटनास्थलको प्रकृति हेर्दा कर्तव्य ज्यान गरेको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “बेपत्ताको खोजीसँगै शङ्कास्पद व्यक्तिहरुसँग सोधपुछ र अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” बेपत्ता कार्कीको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ । नदी किनार र सम्भावित ठाउँमा निगरानी बढाइएको छ ।

कपडा भेटिएको ठाउँ नजिकै स्काभेटरले खोलाको बहाव फर्काएर पनि खोजी गरिएको थियो । आइतबार बिहान ८ बजे घरबाट विद्यालय जान भनेर निस्कनुभएका कार्की साँझ घर नआएपछि परिवारले खोजी थालेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button