राजनीति

गुटबन्दीको संकेत देखिएपछि रविको चेतावनी– ‘पुरानै शैली दोहोरियो भने फरक परिणाम आउँदैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा गुट, उपगुटको संकेत पाएपछि सभापति रवि लामिछानेले गुटबन्दीमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुलाई कडा चेतावनी दिनुभएको छ ।

एक दिन ढिलो गरी सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको प्रवृत्ति बढ्न भन्दै गुटबन्दीले पार्टीलाई सही दिशामा लैजान नसक्ने चेतावनी दिनुभएको हो ।

बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले पुरानै राजनीतिक शैली दोहोरिए र पार्टीभित्र गुट–उपगुट कायम रहिरहे रास्वपाले पनि अन्य दलजस्तै परिणाम भोग्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “साथीहरू, हामीभित्र पनि यस्तै गुट–उपगुट रहिरह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ। फरक आउँदैन। फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ।”

महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाप्रति पनि संकेत गर्दै लामिछानेले गलत मनसायका साथ केही प्रतिनिधि ल्याइएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो। कसैले आफ्नो प्रभावका आधारमा प्रतिनिधि बनाएको भए पनि प्रतिनिधिहरूले विवेक प्रयोग गरी योग्य उम्मेदवारलाई मतदान गर्नुपर्ने उहाँको भनाइ थियो।

लामिछानेले महाधिवेशनबाट जो निर्वाचित भए पनि अन्ततः जित रास्वपाकै हुने विश्वास व्यक्त गर्नुभयो। केन्द्रीय समितिमा जाने व्यक्तिको छनोट गर्दा विवेकपूर्ण निर्णय गर्न प्रतिनिधिहरूलाई आग्रह गर्दै आफू कुनै समूह वा पक्षमा नलागी ‘आइसोलेट’ बसेको दाबी गर्नुभयो।

पार्टीभित्र विभिन्न अफवाहहरू सुन्नमा आएको उल्लेख गर्दै उहाँले कसैले भनेकै भरमा मतदान नगर्न प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। यस्तो प्रवृत्तिले भविष्यमा गलत संस्कारको बीउ रोपिने चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “तपाईँले कसलाई भोट हाल्नुहुन्छ, त्यो तपाईँको विषय हो। तर, ‘यसलाई भोट दिनू, उसलाई नदिनू’ भन्ने व्यक्ति रास्वपा होइन।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.