विष्णु पौडेललाई पूर्वाग्रह र प्रतिशोधका आधारमा पक्राउ गरियो : एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले प्रतिशोध र पूर्वाग्रह साँधेर पक्राउ गरेको आरोप लगाउनुभएको छ। सोमबार प्रहरीले उपाध्यक्ष पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो।
महासचिव पोखरेलले फेसबुकमार्फत वक्तव्य सार्वजनिक गर्दै पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेतमा रहनुभएका बेला उहाँलाई नियोजित रूपमा पक्राउ गरिएको आरोप लगाउनुभएको हो।
उहाँले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले टेलिफोनमार्फत कुराकानी गर्दै काठमाडौं आएपछि सम्पर्कमा आउन आग्रह गर्नुभएको भए पनि त्यसको केही समयपछि सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिइएको बताउनुभएको छ।
‘यो घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरिरहेको देखिन्छ,’ वक्तव्यमा उहाँले भन्नुभएको छ।
महासचिव पोखरेलले राज्यका निकाय स्वतन्त्र र निष्पक्ष हुनुपर्ने तथा तिनका निर्णय राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने बताउनुभएको छ।
‘अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्दछ। कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा यसको प्रयोग हुनु हुँदैन,’ उहाँले भन्नुभएको छ।
पोखरेलले पार्टी उपाध्यक्ष पौडेलको गिरफ्तारी न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा नभएको दाबी गर्दै यस्तो प्रवृत्तिबाट वास्तविक दोषी कानुनी कठघराबाट उम्किन नपाउने पनि बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘हामी त्यस्तो समाजको पक्षमा छौँ, जहाँ कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइने छैन र वास्तविक दोषी कानुनी कठघराबाट उम्किन पाउने छैनन्। तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताविपरीत पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ।’
महासचिव पोखरेलले सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यस प्रकारको प्रतिशोधपूर्ण कार्यको कानुनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिने बताउनुभएको छ।




प्रतिक्रिया राख्नुहोस्