जन सरोकार

जथाभावी औषधि प्रयोग र उपचारलाई नियन्त्रण गर्न आग्रह

कोरोना संक्रमणको महामारी नियन्त्रण र उपचारका नाममा पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै नेपाल चिकित्सक संघले बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ ।

त्यस्तै संघले आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि माग गरेको छ ।

संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको हो ।

यसै गरी यस्ता समस्याको बेलैमा समाधान नहुने हो भने समस्या बढ्दै जाने भन्दै संघले यसले समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै गम्भीर असर पार्ने संघले बताएको छ ।

संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना एन्टिवायोटिक्स, स्टेरोइड्स, सेडाटिभ्सलगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्नका लागि अविलम्ब अनुगमन गरी नियन्त्रणका उपाय अपनाउनुपर्ने बताउनुभएको छ ।

त्यस्तै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले चिकित्सक भनी भ्रामक प्रचार प्रसार गरेको र उपचार प्रक्रियामा पनि समावेश भएको भन्दै उनीहरुमाथि छानबिन गर्न र रोक लगाउन पनि संघले माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button