राजनीति

समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको सङ्केत

शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ ।

मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाका नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको छ ।

सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया तथा परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणलाई प्रभावकारी कार्यान्वयनमा लगेको छ ।

विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले बताउनुभयो ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ समेटिएको शिक्षा मन्त्रालयअन्तर्गतको मुख्य काममा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको थियो ।

उच्च शिक्षातर्फ विश्वविद्यालय तथा सिटिइभिटीले पनि परीक्षा सम्पन्न भएको करिब दुई महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार काम गरिरहेका छन् । केही विश्वविद्यालयमा पदाधिकारी रिक्तताका कारण निर्णय कार्यान्वयनमा चुनौती देखिए पनि अधिकांश शैक्षिक संस्थाले कार्यपालिका अनुसार काम गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ बमोजिमको मुख्य १० कार्यको प्रगति विवरण मन्त्रालयले अद्यावधि गरेको हो । सोहीअनुसार एसइई २०८२ को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ । यसअघि नतिजा प्रकाशनमा लामो समय लाग्दा विद्यार्थी र अभिभावक अन्योलमा पर्ने गरेका थिए ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गरेको छ । अघिल्ला वर्षमा यही नतिजा प्रकाशन हुन करिब तीन महिना लाग्ने गरेको थियो । मन्त्रालयले यसलाई परीक्षा व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गरेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

“डिजिटल सुशासन प्रवद्र्धनअन्तर्गत वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रक्रियालाई थप सहज बनाउन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना गरिएको छ ।

यसबाट विद्यार्थीको भौतिक उपस्थितिको आवश्यकता घट्ने अपेक्षा गरिएको छ । हाल काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना भएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो ।

समकक्षता प्रमाणपत्रको ‘भेरिफिकेसन’ प्रक्रिया पनि छिटो बनाइएको उल्लेख गर्दै उहाँले आवश्यक कागजात पूरा भएका आवेदकलाई आवेदन दिएको दिनमै प्रमाणपत्र उपलब्ध गराउन थालिएको बताउनुभयो । उक्त कार्यका लागि यसअघि कम्तिमा दुईदेखि तीन दिन लाग्ने गरेको थियो ।

यसैबीच, शिक्षकहरूको क्षमता विकासका लागि ‘सिकाइ चौतारी’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । एपमार्फत हजारौँ शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिसकेका छन् ।

मन्त्रालयका अनुसार परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.