जन सरोकार

चितवनको ९३ विघा मकै बारीमा आइपुग्यो सलह

पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।

सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र नगरपालिकाका कृषि प्राविधिकले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकले गराएको उहाँले बताउनुभयो ।

उहाँले जिल्लामा कहीँ देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ ।

सो केन्द्रका प्रमुख राजन ढकालले वाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, परियोजना, केन्द्रलगायत संस्थाका विज्ञ र मन्त्रालयका उच्च अधिकारीका बीचमा सो विषयमा छलफल हुने जनाइएको छ ।

उहाँले मकै बाली तत्काल थन्काउन, चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन र तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्ने जानकारी दिन निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.