प्रदेशप्रदेश २

प्रदेश दुईको विकास खर्च तीस प्रतिशत मात्रै

प्रदेश नं २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालु आर्थिक वर्षको ११ महिनामा सरकारले कूल रु ५ अर्ब ६८ करोड ६५ लाख मात्र खर्च गर्न सकेको छ । यो कूल पूँजीगत खर्चको २९.८० प्रतिशत हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालय, जनकपुरधामका अनुसार नियमित अर्थात् चालु खर्चतर्फ सरकारले रु १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार बजेट विनियोजन गरेकोमा सो अवधिमा रु ४ अर्ब ९६ करोड ९२ लाख मात्र खर्च भएको छ ।

यो कूल चालु खर्चको ३७.२५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिनुभयो । कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयले विनियोजित कूल बजेटको ४१.१४ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयले विनियोजित बजेटको चालूतर्फ रु ३५ करोड ६० लाख ८१ हजार र पूँजीगततर्फ रु ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार खर्च गरेको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो अवधिमा सबैभन्दा कम अर्थात् १३.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । सो अवधिमा चालूतर्फ रु ३४ करोड १० लाख ६१ हजार र पुँजीगततर्फ रु ११ करोड १४ लाख ८४ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै चालू आर्थिक वर्षको ११ महिनामा आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजित कूल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले सो अवधिमा चालूतर्फ रु ७ करोड ६ लाख ८६ हजार र पुँजीगततर्फ रु १ करोड ८० लाख १० हजार खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ ।

तीमध्ये चालूतर्फ रु ६६ करोड ४३ लाख ४८ हजार र पुँजीगततर्फ रु ४० करोड ५४ लाख ६० हजार गरी रु एक अर्ब ६ करोड ९८ लाख ९ हजार खर्च गरेको छ । यसैगरी चालू आर्थिक वर्षको ११ महिनामा सामाजिक विकास मन्त्रालयले चालूतर्फ रु एक अर्ब ५२ करोड २१ लाख र पूँजीगततर्फ रु ५८ करोड चार लाख एक हजार गरी कूल रु दुई अर्ब आठ करोड २५ लाख खर्च गरेको छ ।

वर्षाका कारण सडक अवरुद्ध

सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्ध भएका छन ्। केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्ध भएका छन ्।

सडक नपुगेको चुरे क्षेत्रका नागरिक हरेक वर्षको बर्खायामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन्। पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी,हरिवन,बागमती र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीहरूमा सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या हुने लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष सुबाई सिंह ब्लोनले बताउनुभयो ।

जेठ महिनाको अन्तिमसाता यता निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले नागरिकहरू त्रसित भएका छन । अघिल्लो वर्षको बर्खामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो। वर्षायाममा बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनमा कुनै पनि स्थानीय निकायले प्रयास समेत नगरेका स्थानीयको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button