विश्व समाचार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १९ हजार

विश्वका १ सयभन्दा बढी मुलुकमा कोरोना भाइरस सङ्क्रमण पुनः बढ्न थालेको छ । भारतमा पनि पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । यस क्रममा त्यहाँ पछिल्लो २४ घण्टाको समयावधीमा १८ हजार ८१९ सङ्क्रमित भएका छन् ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३९ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ११६ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख चार हजार ५५ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता पहिलो पटक हो ।

पछिल्लो एक दिनमा तेह्र हजार ८२७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख २२ हजार ४९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोजभन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button