राजनीति

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर घाइते डा रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

डा रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्ने भएकाले आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था रहेकाले कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ ।

मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुन बमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ । साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियमित सेवा सञ्चालन गर्न अनुरोध मन्त्री मेहताले अस्पतालमा सुरक्षित र निर्भयपूर्ण वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि समाजका लागि स्वीकार्य नहुने उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको बताउनुभएको छ । यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.