जन सरोकार

उपत्यकामा लगभग हट्यो निषेधाज्ञा, सबै यातायात चल्ने

कोरोना भाइरस संक्रमण दर कम भए पनि जोखिम उच्च रहेको भन्दै विज्ञहरुले सचेत पारिरहेका भए पनि राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा अरु खुकुलो गर्दै निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै जोरबिजोर प्रणाली हटाएर माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय गरेको हो ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।

यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलन पाउने छन् । लामो दूरीका सार्वजनिक यातायात सञ्चालन पाइने तर जिल्ला प्रशासन कार्यालयको पास हुनपर्नेछ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडीभित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button