खेलफूटबल

मोरक्को क्वाटरफाइनलमा, फ्रान्ससँगको भिडन्तलाई ‘फाइनलअघि फाइनल’को संज्ञा

विश्वकप फुटबल २०२६ अन्तर्गत नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलमा मोरक्कोले आयोजकमध्येको एक क्यानडालाई पराजित गर्दैै क्वाटरफाइनल प्रवेश गरेको छ । अन्तिम १६ सम्म मोरक्कोको अद्भुत प्रदर्शन विश्व फुटबलको सबैभन्दा प्रेरणादायी कथामध्ये एक बनेको छ।

क्यानडामाथिको सानदार जितसंगै मोरक्कोलाई अब केवल “अण्डरडग” टोलीका रूपमा होइन, विश्वकप जित्ने वास्तविक दाबेदारका रूपमा समेत खेल विश्लेषकहरुले हेर्न थालेका छन् ।

मोरक्को अहिले विश्वकपमा मात्र होइन, समग्र अन्तर्राष्ट्रिय फुटबलमै सबैभन्दा लयमा रहेको टोलीमध्ये एक हो। अगस्ट २०२५ मा केन्यासँग पराजित भएपछि उसले लगातार ३४ अन्तर्राष्ट्रिय खेलमा हार बेहोरेको छैन। यही अपराजित यात्राले मोरक्कोलाई विश्वकप उपाधिको बलियो दाबेदार बनाएको छ।

यस सफलताको केन्द्रमा कप्तान अचराफ हाकिमी र आक्रमणकारी ब्राहिम डियाज छन्। विश्वकै उत्कृष्ट राइट ब्याकमध्ये एक मानिने हाकिमीले रक्षादेखि आक्रमणसम्म टोलीलाई नेतृत्व गरिरहेका छन् भने ब्राहिम डियाजले यस विश्वकपमा चार गोलका अवसर सिर्जना गर्दै कुनै पनि अफ्रिकी खेलाडीले एकै संस्करणमा बनाएको उत्कृष्ट रेकर्ड बराबरी गरेका छन्।

मोरक्कोको यो उपलब्धि आकस्मिक होइन। राजा मोहम्मद छैटौँको नेतृत्वमा फुटबल पूर्वाधारमा गरिएको दीर्घकालीन लगानी, अत्याधुनिक राष्ट्रिय फुटबल एकेडेमी, विश्वस्तरीय प्रशिक्षण केन्द्र र युवा खेलाडी उत्पादन प्रणालीले आजको सफलताको आधार तयार गरेको हो।

सन् २००९ र २०१९ मा खोलिएका अत्याधुनिक एकेडेमी र ६ करोड ५० लाख डलरको तालिम केन्द्रले मोरक्कोलाई अफ्रिकाकै नम्बर १ टोली बनाएको छ। यही योजनाबद्ध विकासका कारण मोरक्को अफ्रिकाको सबैभन्दा प्रतिस्पर्धी फुटबल राष्ट्रका रूपमा स्थापित भएको छ।

प्रशिक्षक मोहम्मद उआबीले पनि आफ्नो टोली अब कसैका लागि आश्चर्यको विषय नरहेको बताउँदै भन्नुभएको छ, “मोरक्को अब सानो टोली होइन, हामी विश्व फुटबलका प्रमुख राष्ट्रहरूमध्ये एक बन्ने यात्रामा छौं।”

मोरक्कोले विश्वकप नकआउट चरणमा हालसम्म चार खेल जितिसकेको छ, जुन बाँकी सबै अफ्रिकी राष्ट्रहरूको संयुक्त जित बराबर हो। यसले अफ्रिकी फुटबलको नयाँ युगको संकेत गरेको विश्लेषण भइरहेको छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, मोरक्को अब विश्वकप उपाधि जित्ने सम्भावना बोकेको पहिलो अफ्रिकी राष्ट्रका रूपमा उभिएको छ। विश्व फुटबलमा दशकौँदेखि युरोपेली र दक्षिण अमेरिकी राष्ट्रहरूको वर्चस्व रहँदै आएको अवस्थामा मोरक्कोले त्यो परम्परालाई चुनौती दिएको छ।

यदि उसले उपाधि जित्न सफल भयो भने विश्वकप इतिहासमै पहिलोपटक अफ्रिकी राष्ट्रले विश्व च्याम्पियन बन्ने नयाँ इतिहास रच्नेछ। अब क्वार्टरफाइनलमा मोरक्कोको सामना दुई पटकको विश्व च्याम्पियन फ्रान्ससँग हुनेछ। यो खेललाई यस विश्वकपकै सबैभन्दा प्रतीक्षित र उच्चस्तरीय प्रतिस्पर्धामध्ये एक मानिएको छ।

खेल विश्लेषकहरूका अनुसार फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनललाई समयअगावै हुने “फाइनल”का रूपमा समेत हेरिएको छ। यी दुई टोलीमध्ये विजेता बन्ने राष्ट्र विश्वकप उपाधिको सबैभन्दा प्रबल दाबेदार हुने आकलन गरिएको छ ।

किनकि दुवै टोली उत्कृष्ट लय, बलियो रक्षापंक्ति र निर्णायक खेलाडीका कारण प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोली मानिएका छन्।

यदि मोरक्कोले फ्रान्सलाई पराजित गर्न सफल भयो भने त्यो केवल अर्को जित मात्र हुने छैन, बरु विश्व फुटबलमा युरोप र दक्षिण अमेरिकाको दशकौँ लामो वर्चस्वलाई चुनौती दिने ऐतिहासिक उपलब्धिका रूपमा समेत स्मरण गरिनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.