क्रिकेटखेल

लिग–२ शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, जर्सीमा अभ्यास खेल्ने

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी शृङ्खला जुलाई २१ देखि सुरु हुँदैछ। त्यसअघि नेपाली टोलीले जर्सीमा तयारी शिविर सञ्चालन गर्दै दुई अभ्यास एकदिवसीय खेल खेल्नेछ। पहिलो अभ्यास खेल जुलाई १३ र दोस्रो जुलाई १५ मा हुनेछ।

आइतबार भएको विदाई समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दबाबमुक्त भएर खेल्न आग्रह गर्दै टोलीप्रति विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “तपाईंहरू बिना दबाब आफ्नो स्वाभाविक खेल खेल्नुहुनेछ भन्ने विश्वास छ। पछिल्ला घरेलु शृङ्खलामा देखिएको प्रदर्शनलाई निरन्तरता दिनुहोस्” ।

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिनुभयो।

उहाँले भन्नुभयो, “प्रतिस्पर्धा दिनप्रतिदिन कडा बन्दै गएको छ। तर टोलीले पछिल्लो समय देखाएको लयलाई कायम राख्दै युरोप भ्रमणमा पनि राम्रो प्रदर्शन गर्नेमा विश्वास छ” ।

उहाँले आगामी केही महिना नेपाली क्रिकेटका लागि निकै व्यस्त रहने उल्लेख गर्दै लिग–२ शृङ्खलासँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीसमेत अघि बढ्ने जानकारी दिनुभयो।

नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको तयारी सन्तोषजनक रहेको बताउँदै लिग–२ का बाँकी खेल विश्वकप छनोटका लागि अत्यन्त महत्वपूर्ण भएकाले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताउनुभयो।

“पछिल्लो एक सातादेखि हामी फिटनेस र तयारीमा केन्द्रित छौं। यो भ्रमणलाई निकै महत्व दिएका छौं। विश्वकपमा पुग्ने लक्ष्यका लागि बाँकी सबै शृङ्खला निर्णायक छन्,” कप्तान पौडेलले भन्नुभयो।

लिग–२ शृङ्खलाअघि जर्सीमा अभ्यास खेल खेल्नुको उद्देश्य नेदरल्यान्ड्सको मौसम र खेलमैदानसँग मिल्दोजुल्दो वातावरणमा टोलीलाई अभ्यस्त गराउनु रहेको क्यानले जनाएको छ।

नेपालले केही साताअघि घरेलु मैदानमा सम्पन्न दुई शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै आठमध्ये ६ खेल जितेको थियो। त्यससँगै लिग–२ को अंकतालिकामा पनि नेपालको अवस्था सुधारिएको छ।

यस भ्रमणका लागि क्यानका सदस्य श्रीधर केसी टोली व्यवस्थापकको जिम्मेवारीमा रहनुभएको छ। मुख्य प्रशिक्षक स्टुअर्ट लको राहदानी नवीकरण प्रक्रियामा ढिलाइ भएकाले उहाँ केही समयपछि टोलीसँग जोडिने क्यानले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.