टोकियो। जापानको तीव्र आधुनिकीकरण, राज्यसत्ता, सैन्यीकरण र सामाजिक असमानतामाथि कलामार्फत निरन्तर प्रश्न उठाउँदै आएकी चर्चित जापानी कलाकार साचिको काजामाका चार दशकका सिर्जना एकै ठाउँमा प्रदर्शनीमा राखिएका छन्।
आओमोरी प्रान्तको हिरोसाकी समकालीन कला सङ्ग्रहालयमा सुरु भएको विशेष प्रदर्शनीमा काजामाका ६० भन्दा बढी कलाकृति राखिएका छन्। प्रदर्शनीमा उहाँका पुराना चर्चित कृतिसँगै यसै अवसरका लागि तयार गरिएका नयाँ सिर्जनासमेत समावेश छन्। प्रदर्शनी आगामी नोभेम्बर १५ सम्म सञ्चालन हुनेछ।
राजनीतिक व्यंग्यलाई कलाको मुख्य विषय बनाउँदै आएकी काजामाले जापानको आधुनिकीकरणको यात्रालाई ‘अन्धकारमय परीकथा’सँग तुलना गर्नुभएको छ।
उहाँका कलाकृतिमा मध्ययुगीन योद्धा, रोबोट, आणविक युद्धपोत, शास्त्रीय साहित्य र सङ्गीतका पात्रलाई एउटै दृश्यमा प्रस्तुत गर्दै आधुनिक विकासका पछाडि लुकेका सामाजिक तथा राजनीतिक यथार्थ चित्रण गरिएको छ।
प्रदर्शनीको सबैभन्दा चर्चित कृतिमध्ये ‘डिस्लिम्पिक्स २६८०’ पनि समावेश छ। यो विशाल काठछाप चित्र सन् २०१८ मा टोकियो ओलम्पिकको तयारी भइरहेका बेला तयार गरिएको थियो।

उक्त चित्रमा सैनिकहरूको मार्च, राज्यद्वारा प्रयोग गरिएको हिंसा, सडकबाट मानिसलाई बलपूर्वक हटाइएका दृश्य तथा फासिवादी प्रतीक प्रयोग गरिएका छन्। यसले सन् १९६४ को टोकियो ओलम्पिकअघि पूर्वाधार निर्माणका नाममा बेघर नागरिकलाई विस्थापित गरिएको र श्रमिक बस्तीहरू भत्काइएको घटनालाई संकेत गरेको छ।
काजामाले विकासका नाममा हुने विस्थापन, राज्यको दमनकारी प्रवृत्ति र आम नागरिकले भोग्नुपर्ने पीडालाई कलामार्फत उजागर गर्न खोज्नुभएको कला समीक्षकहरूको भनाइ छ।
उहाँका अधिकांश सिर्जनामा युद्धपछिको जापान, औद्योगिकीकरण, राष्ट्रवाद, प्रविधिको विस्तार र शक्ति केन्द्रित राज्य व्यवस्थाप्रति आलोचनात्मक दृष्टिकोण देखिन्छ। परम्परागत जापानी काठछाप कलालाई समकालीन राजनीतिक विषयसँग जोडेर उहाँले आफ्नो छुट्टै कलाशैली विकास गर्नुभएको छ।

हिरोसाकीमा आयोजित यो प्रदर्शनीलाई साचिको काजामाको झण्डै ४० वर्ष लामो सिर्जनात्मक यात्राको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।
कला पारखीहरूका अनुसार उहाँका कृतिले आधुनिक विकासका चम्किला पक्ष मात्र होइन, त्यसका कारण ओझेलमा परेका मानिसका पीडा, इतिहास र सामाजिक न्यायका प्रश्नलाई पनि सशक्त रूपमा प्रस्तुत गरेका छन्।
समाचार स्रोत जापान टाइम्स




प्रतिक्रिया राख्नुहोस्