कोरोना संक्रमणको नयाँ हटस्पट ब्राजिल १६ लाख बढी संक्रमित, ६४ हजारकोे मृत्यु
ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या १६ लाख नाघेको बताइएको छ । यहाँ गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २४ घन्टायताका घटनाको अध्ययन गर्दा यहाँ ६०२ जनाको ज्यान गएको बताइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार यहाँ मृत्यु हुने व्यक्तिको संख्या ६४ हजार ८६७ जना पुगेको छ । गएको शनिबारमात्र ब्राजिलले ३८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । त्यसैगरी सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको बताइएको थियो ।
गएको हप्ता दिन यता ब्राजिलमा कोरोना भााइरसबाट हरेक दिन एक हजारभन्दा बढीको ज्यान गएको देखिएको छ भने ठूलो संख्यामा संक्रमितहरु पनि थपिँदै गएका छन् । ब्राजिल कोरोना भाइरसबाट नागरिकको ज्यान जानेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ । यहाँ संक्रमण बढ्दो रुपमा देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
अमेरिकामा अहिलेसम्म यस संक्रमणबाट १ लाख २९ हजार ८०० जनाको ज्यान गएको छ । विश्वका सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा अहिलेसम्म २८ लाखभन्दा पनि बढी नागरिक संक्रमित हुन पुगेका बताइएको छ ।
यसै गरी कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६५ लाख ४६ हजार ८४५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४४ लाख ९४ हजार १७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २९ लाख ८३ हजार १४२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ५७१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्