जन सरोकारस्वास्थ्य

परीक्षणबिना नै शल्यक्रिया गरेपछि

जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जाँचै नगरी शल्यक्रिया गर्दा बिरामीको ज्यान खतरामा परेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मधेस प्रदेशका प्रदेशसभा सदस्यले माग गरेका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्नुहुँदै प्रदेशसभा सदस्यले कुनै जाँचै नगरी पित्तथैली शल्यक्रिया गर्दा गर्भवती महिला बिभा चौधरीको स्वास्थ्य अवस्था जटिल भएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

प्रदेशसभा सदस्य परमेश्वर साहले पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउन प्रादेशिक अस्पतालमा भर्ना भएकी महोत्तरीकी बिभाको स्वास्थ्य जाँच नगरी चिकित्सकले शल्यक्रिया गर्दा उहाँको जीवन खतरामा पुगेको बताउनुभयो ।

शल्यक्रिया अघि भिडियो एक्सरे, एक्सरे गर्ने गरिन्छ, तर बिभाको शल्यक्रिया अघि अस्पतालले कुनै किसिमको जाँच गरिएको छैन”, प्रदेशसभा सदस्य साहले भन्नुभयो, “यो घटनामा चिकित्सकको चरम लापर्बाही देखिन्छ, चिकित्सकले संवेदनशीलता नदेखाएकाले गर्भवती महिलाको ज्यान खतरामा पुगेको छ । त्यसैले घटनाको सत्यतथ्य छानबिन गरेर चिकित्सकमाथि कारबाही गर्नुपर्छ ।”

बिभाको घटनाले मधेस प्रदेशको स्वास्थ्य अवस्थालाई उजागर गरेको भन्दै प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले लापर्बाही गर्ने प्रादेशिक अस्पतालका चिकित्सवलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य मनिषकुमार सुमनले बिभाको जीवनसँग चिकित्सकले खेलवाड गरेको आरोप लगाउनुहुँदै शल्यक्रियामा संलग्न चिकित्सक मुख्य दोषी रहेकाले तत्काल छानबिन गरेर दोषी चिकित्सकको लाइसेन्स खारेज गर्नुपर्ने माग गर्नुभयो ।

घटनामा चिकित्सकको लापर्बाही देखिए पनि अहिले चिकित्सकले शल्यक्रिया मैले गरेको होइन, मैले गरेको होइन भनी पन्छिन खोजेको आरोप लगाउनुहुँदै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले घटनाको छानबिन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गर्नुभयो ।

यसैबीच प्रदेशसभाको बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन मधेस प्रदेशसभाअन्तर्गत महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएको छ । सभामुख सरोजकुमार यादवले प्रादेशिक अस्पतालमा भएको सो घटना छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.