विश्व समाचार

कोरोना हावाबाट पनि फैलिनसक्ने प्रमाण : डब्लुएचओ नयाँ निर्देशिका जारी गर्दै

अहिलेसम्म मानिसबाट मानिसमा मात्र कोरोना भाइरस संक्रमण हुने भनिए पनि अहिले आएर त्यो गलत सावित भएको छ । कोरोना भाइरस हावाबाट पनि सर्ने प्रमाणलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वीकार गरेको छ ।

डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ ।

यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ । यसबारे डब्ल्यूएचओले छिट्टै एक विज्ञिप्त जारी गर्ने तयारी गरिरहेको छ ।

सुरुका दिनमा कोरोनाका विषयमा डब्लुएचओको तर्क, निर्देशन र दावी नै असफल हुँदै आएका सन्दर्भमा हावाबाट कोरोना सर्ने प्रमाणसहित विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेका थिए ।

उनीहरुले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै जारी रहेको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । उनीहरुको सो सुझावलाई डब्लुएचओले ग्रहण गरेकको हो ।

गत सोमबार क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

२ सय ३९ जना वैज्ञानिकहरुले दिएको प्रतिवेदन हेर्न यहाँ जानुहोस्

डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिनुभएको छ ।

यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न नसकिने भन्दै यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राखेको बताउनुभएको थियो ।

अहिलेसम्म कोरोना भाइरस सर्नसक्ने दुई तरिकालाई मात्र नियन्त्रणको विषयमा प्रयास हुँदै आएको छ । तत्काल कुनै संक्रमितबाट कोरोना भाइरस सर्न सक्ने जोखिम र दोस्रो संक्रमण फैलाउन सक्ने सतहमा छोएर आफ्नो नाक, आँखा वा मुखमा छुँदा सर्ने जोखिम ।

यद्यपि विशेषज्ञहरूले भने तेस्रो तरिकाबाट पनि कोरोना भाइरस फैलिनसक्ने खतरा रहेको बताउँदै आएका छन् । अध्ययनले संक्रमितको मुखबाट निस्किएको ड्रपलेट -सूक्ष्म थोपा_को सबैभन्दा सूक्ष्म रुप लामो समयसम्म हावामा रहन सक्ने देखाएको छ। एरोसोल्स निकै सानो ड्रपलेट -पाँच माइक्रोनभन्दा सानो_ हावामा छिटै बाफको रुपमा उडेर हराउन सक्छ। जसको कारण अन्य ड्रपलेटको तुलनामा लामो दुरीसम्म पुग्न सक्छ ।

जसको कारण बन्द कोठाभित्र राम्रोसँग हावा आवतजावत हुन नसक्ने स्थानमा बस्ने मानिसहरू निकै जोखिममा हुन्छन् । त्यसैले हावा राम्रोसँग आवतजावत नहुने घरहरू, बस, कोठाहरू र अन्य यस्ता स्थानहरू झन् धेरै जोखिमपूर्ण हुन्छन् । जहाँ एक दशमलव ८ मिटरको भौतिक दुरी कायम राख्नुले पनि काम नगर्न सक्छ ।

यसरी एरोसोल्सबाट बन्द कोठाभित्रको हावामा नै रहेको कारण संक्रमितसँगको भौतिक दुरी कायम राख्दा पनि संक्रमित बनेको धेरै उदाहरण पाइएको विशेषज्ञहरूले बताउँदै आएका छन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.