आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेस प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थान तथा मधेस प्रदेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एकदुई स्थानमा भारी वर्षाका सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध महाशाखाले अनुरोध गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्